धनगढी । सुदूरपश्चिम प्रदेशमा एक हजार तिन सय ६२ जना एचआईभी संक्रमित भएको पाइएको छ । ५ वर्षको अवधिमा तिन लाख ५६ हजार ५५१ जनामा परीक्षण गर्दा एक हजार तिन सय ६२ जना संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालयको तथ्याङ्क छ ।
आर्थिक वर्ष ०७६/०७७ मा १४ हजार ३९८ जनालाई एचआईभी जाँच गर्दा २८८ जना एचआईभी सक्रमित भेटिएका छन् भने ०७७/०७८ मा ४० हजार ४४४ जनालाई जाँच गर्दा २७९ जना एचआईभी संक्रमित भेटिएका थिए ।
यस्तै ०७८/७९ मा ९१ हजार ४४ जनामध्येलाई जाँच गर्दा ३२५ जना एचआईभी संक्रमित देखिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । यस्तै गरी आर्थिक वर्ष ०७९/०८० मा एक लाख ४४ हजार ६४७ र ०८०/०८१ मा ६६ हजार १८ जनालाई जाँच गर्दा २१८ जना संक्रमित भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका सूचना अधिकारी धर्मानन्द गिरीले बताए ।
सुदूरपश्चिमका अधिकांश कामको सिलसिलामा भारत जाने व्यक्तिहरूमा एचआइभी संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय डोटीका एचआइभी फोकल पर्सन मनोज प्रसाद ओझाले बताए। उनले भने ‘सबैभन्दा बढी कामको खोजीमा भारत जानेहरूमा र उनीहरूको परिवारमा एचआइभी संक्रमण देखिएको छ । थोरै सङ्ख्यामा बच्चाहरूमा देखिएको छ भने केही सङ्ख्यामा ट्रान्सजेन्डरहरूमा पनि एचआइभी संक्रमण देखिएको छ ।’
सेती प्रादेशिक अस्पताल धनगढी, टिकापुर अस्पताल, लम्कीचुहा अस्पताल, मालाखेती अस्पताल, महाकाली प्रादेशिक अस्पताल कञ्चनपुर, डडेलधुरा अस्पताल, जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल अछाम, जिल्ला अस्पताल बझाङ, जिल्ला अस्पताल बाजुरा, जिल्ला अस्पताल दार्चुला, जिल्ला अस्पताल बैतडी, प्राथमिक स्वास्थ्य केन्द्र कमलबजार अछाम, प्राथमिक स्वास्थ्य केन्द्र केसरपुर बैतडी, दोधारा प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुर, जोगबुढा अस्पताल डडेलधुरा र वालपाटा अस्पताल अछाममा एचआईभी सङ्क्रमितहरूको उपचार भइरहेको स्वास्थ्य निर्देशनालयका एचआईभी फोकल पर्सन ओझाले बताए ।
