धनगढी, १४ असार/नेपाल विद्युत प्राधिकरणको सुचीकृत ऋण चुक्ता भए पनि ग्रामीण विद्युत सहकारी संस्थाको संरचना हस्तान्तरण नभएको कार्यक्रममा सहभागी बक्ताहरुले बताएका छन् ।
जिल्ला सहकारी संघ कैलालीको आयोजनामा गौरीगंगा नगरपालिकाका जनप्रतिनिधि र ग्रामीण विद्युत सहकारी संस्थाका प्रतिनिधि बिच शुक्रबार अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् ।
प्रमुख अतिथि रहेका गौरीगंगा नगरपालिका प्रमुख देवी दत्त कडेलले सहकारी संस्था दिगो रुपमा संचालनको लागि सहकारी ऎन र विनियम अनुसार काम गर्नुपर्ने बताए। विद्युत सहकारी संस्थाको संरचना हस्तान्तरणको लागि नेपाल विद्युत प्राधिकरणसँग छ्लफल गरि माग संबोधनको लागि पहल गर्ने समेत कडेलले बताए । साथै लाइन बिस्तारको लागि साझेदारीमा काम गर्न सहयोग गर्ने बताए ।
गौरीगंगा नगरपालिका उपप्रमुख भोज बहादुर बमले सहकारी संस्था मूल्य मान्यता अनुसार चलेका छन् छैनन् अनुगमन गर्ने बताए । जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणीराज सापकोटाले सबै विद्युत सहकारी संस्थालाई समन्वय गरि समस्या समाधानको लागि सहयोग गर्ने बताए ।
गौरीगंगा नगरपालिका सहकारी शाखा प्रमुख अशोक जोशीले सहकारी संस्थालाई व्यबस्थित गर्न समयमै नगरपालिकामा प्रतिबेदन बुझाउन कार्यक्रममा सहभागीलाई आग्रह गरे । कार्यक्रमा गौरीगंगा नगरपालिका,धनगढी उपमहानगर पालिका, कैलारी गाउँ पालिका र गोदावरी नगरपालिका विद्युत सहकारीका प्रतिनिधिको सहभागिता रहेको थियो ।