धनगढी, १२ कार्तिक / युवाहरूमा वैज्ञानिक सोच, प्राविधिक सीप, सिर्जनशीलता तथा नवप्रवर्तन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले धनगढीमा मेकरस्पेस स्थापना गरिएको छ ।
धनगढी उपमहानगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को साझेदारीमा सञ्चालित ग्रिन ट्रान्जिसन पोर्टफोलियोअन्तर्गत मेकरस्पेस स्थापना गरिएको हो ।
मेकरस्पेसमा रोबोटिक्स, डिजिटल फेब्रिकेसन उपकरण, प्रोटोटाइप निर्माण सुविधा तथा सहकार्यात्मक कार्यस्थल उपलब्ध छन् । यी सुविधामार्फत युवाहरूले प्राविधिक सीप सिक्नुका साथै उद्यमशीलता, अध्ययन, अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा काम गर्न सक्ने धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले जानकारी दिए ।
उनका अनुसार मेकरस्पेसले युवाहरूलाई नयाँ प्रविधि सिक्न, आफ्ना सिर्जनात्मक सोचलाई व्यवहारमा उतार्न र नवीनतम प्रविधिमा आधारित परियोजना विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
धनगढी उपमहानगरपालिकाको कार्यालयअगाडि स्थापना गरिएको मेकरस्पेसको बिहीबार एक कार्यक्रमबीच वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले उद्घाटन गरेका हुन् ।