धनगढी, २४ फागुन/ बाजुरामा पुनःस्थापित नेकपा एमाले निकट अनेरास्ववियुका नेता कार्यकर्ताले पार्टी कार्यालयको बोर्ड परिवर्तन गरेका छन् । पार्टी कार्यालयमा टाँसिएको नेपाल कम्यूनिष्ट पार्टीको बोर्ड हटाएर नेकपा एमालेको नयाँ बोर्ड राखिएको विद्यार्थी नेता लक्ष्मण रोकायाले जानकारी दिएका छन् ।
सर्वोच्च अदालतले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीलाई खारेज गर्दै तत्कालीन एमाले र माओवादी पार्टी ब्युँताउने निर्णय गरेपछि देखिएको ‘साइड इफेक्ट’स्वरूप नेकपाको बोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टी एमाले लेखिएको बोर्ड राखिएको हो ।
अनेरास्ववियुका केन्द्रीय सदस्य डेनिस शाहीको नेतृत्वमा गएको टोलीले नेकपा लेखिएको साइनबोर्ड हटाएर नयाँ टाँसेका छन् । जिल्ला कमिटीको कार्यालय साविक एमालेले मदन भण्डारी पुस्तकालयकै नाममा निर्माण गरेको हो ।
एमालेकै पार्टी कार्यालयमा एमालेकै बोर्ड टाँस्नु कुनै नौलो र आश्चर्यको विषय नभएको विद्यार्थीले नेताले बताएका छन् । अदालतको फैसलाको समर्थनमा मार्तडीमा दीप प्रज्वलन गरेको अनेरास्ववियुले दोस्रो दिन पार्टी कार्यालयमा बोर्ड टाँसेको हो ।
ओली समूहको अनेरास्ववियुका नेता कार्यकर्ताको सल्लाहमा पार्टी कार्यालयमा बोर्ड फेरिएको हो । नेकपा एमाले र माओवादी केन्द्र एकता हुनुपूर्व यो भवनमा एमालेकै पार्टी कार्यालय थियो ।
बोर्ड अनेरास्ववियुका नेता डेनीस शाही, एमाले नेता डबल विक, विद्यार्थी नेता आरसी रोकाया, लक्ष्मण रोकाया, करण रोकाया, शुभराज खड्का, मनोज बोहरा लगायतले टाँसेका हुन् ।
नेकपा एमालेको जिल्ला कमिटीमा पनि ओली पक्षकै बहुमत थियो । ५६ जना सदस्य रहेको जिल्ला कमिटीमा ४० बढी ओली पक्षकै थिए । पार्टी अध्यक्ष पनि ओली पक्षकै कालीबहादुर शाही अध्यक्ष थिए । एकतापछि पनि शाही नै अध्यक्ष छन् ।
लामो समय दुबै समूह बीचको तनाबले प्रहरी सुरक्षामा रहेको कार्यालयमा आजदेखि एमालेकै कार्यालयको रुपमा नियमित सञ्चालन आउने ओली पक्षका एक जना नेताले बताएका छन् । कार्यालय एमालेकै थियो र अब पनि एमालेकै हुने गरी विद्यार्थीले बोर्ड टाँसे यसलाई स्वभाविक प्रक्रियाका रुपमा लिनु पर्ने नेकपा एमालेका नेताहरुको भनाई छ ।
तत्कालिन पार्टी सचिव बल्देव रेग्मी र उपसचिव गगन रावल भने हाल प्रचण्ड माधव समूहमा लागेका छन् । रेग्मी प्रदेश कमिटीमा गएपछि सचिव पद खाली रहेको थियो । तत्कालिन पार्टी अध्यक्ष लालबहादुर थापा केन्द्रीय सदस्य बनेपछि उपाध्यक्ष कालीबहादुर शाही अध्यक्ष बनेका थिए । उपाध्यक्ष पद पनि खाली नै थियो ।

