धनगढी, २४ फागुन/कैलालीको ‘गोदावरी क्षेत्र’ धार्मिक र प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण क्षेत्र हो । यो क्षेत्रमा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरूको घुँइचो लाग्ने गरेको छ । यहाँ धार्मिक महत्त्वका साथै पिकनिक खान आउने समेत बढ्न थालेका छन् । महाभारत लेकको फेदमा रहेको गोदावरीमा अन्य दिनभन्दा सार्वजनिक बिदाको दिन धेरै घुँइचो हुने गरेको छ ।
‘गोदावरी क्षेत्रमा घुम्न आउनेहरू बढेका छन्,’ स्थानीय व्यवसायी मनोज थापाले भने, ‘कोरोना संकट घट्दै गएपछि अझ भनौं दसैंपछि पर्यटक बढेका छन् ।’ प्राकृतिक रूपमा मनोरम तथा धार्मिक, पौराणिक र ऐतिहासिक रूपमा प्रसिद्ध यो क्षेत्रको अवलोकनमा दैनिक सयौँको संख्यामा मानिसहरू पुग्ने गरेका छन् ।
कैलालीको गोदावरी नगरपालिकामा अवस्थित अत्तरिया बजारदेखि ७ किमिको दूरीमा यो क्षेत्र रहेको छ । गोदावरीलाई सुदूरपश्चिमको प्रवेशद्वारका रूपमा पनि लिइन्छ।
गोदावरीको माथिल्लो क्षेत्र पहाड र तल्लो क्षेत्रमा तराई रहेको छ । यहाँ विभिन्न मठमन्दिर शक्ति पीठहरूका साथै नेपालकै अग्लो हनुमानको मूर्ति छ । यहाँ हरेक वर्ष कुम्भ र महाशिवरात्रि मेला लाग्ने गर्छ । गोदावरी क्षेत्रभित्र क्रमिक रूपमा सुविधा सम्पन्न होटल तथा रेस्टुरेन्ट खुल्ने क्रम पनि बढ्दो छ । घुमघाम र शान्त वातावरणमा खानपिनका लागि पुग्ने आन्तरिक पर्यटकको संख्या दैनिक बढ्दो क्रममा देखिन्छ ।
‘सहरको कोलाहलपूर्ण वातावरणभन्दा टाढा जानु पर्दा नजिकको क्षेत्र गोदावरी हो’ कञ्चनपुरको महेन्द्रनगरबाट घुम्न आएका महेश अवस्थीले भने, ‘यहाँ आएपछि फरक खालको अनुभूति हुन्छ । फेरि तराई बसिराखेको मान्छेलाई पहाडको काखमा आउनु नै नयाँपन जस्तो लाग्छ ।’
सुदूरश्चिम प्रदेश सरकारले गोदावरी क्षेत्रलाई प्रदेशको स्थायी राजधानी तोकेपछि यो क्षेत्रको महिमा झनै बढेको हो । वन क्षेत्रको उचित संरक्षण, सार्वजनिक जल तथा जमिनको उचित व्यवस्थापन गर्न सके भारतको हरिद्वारको शैलीमा यसको विकास गर्न सकिने गोदावरी नगरपालिका–४ का स्थानीय कृष्ण साउदले बताए । संघ, प्रदेश तथा स्थानीय सरकारले गोदावरी क्षेत्रको गुरुयोजनामा विशेष जोड दिनुपर्ने स्थानीयको माग छ ।

धार्मिक महत्त्व
गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक छ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशि दर्शन मकर मेलाको सुरुआत गरिएसँगै यो क्षेत्र प्रमुख धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास हुन थालेको हो । प्रत्येक वर्ष कुनै एक राशिमा कुम्भ मेलाको योग पर्छ भन्ने शास्त्रीय मान्यताअनुसार प्रत्येक वर्ष मकर संक्रान्तिका अवसरमा खगोल शास्त्रीय विधिमा आधारित भई कुम्भ मेलाको प्रतीकका रूपमा बाह्रराशि दर्शन मेलाको आयोजना गर्ने धामका अध्यक्ष एवं साहित्यकार पदमराज जोशीले बताए ।
‘वैदिक संस्कृतिमा आक्रमण बढ्दै गएको अवस्थामा यसको पुनर्जागरणको प्रयासस्वरूप यो अभियान थालिएको हो’, जोशीले भने, ‘यस्तो अभियानले धार्मिक पर्यटनको प्रवद्र्धन गरेर रोजगारीका अवसर पनि सिर्जना गर्न सकिन्छ ।’ गोदावरीलाई सुदूरपश्चिम प्रदेशमा धार्मिक पर्यटनका लागि आधार शिविर बनाउने प्रयास गरिएको जोशीले बताए । धर्म संस्कृतिको संरक्षणको प्रयासस्वरूप सो क्षेत्रमा गत वर्ष स्थापना गरिएको गुरुकुल विद्यापीठमा वेद र संस्कृत पठनपाठन सञ्चालनमा आएको छ ।
सो क्षेत्रमा १००८ शिवलिङ्ग स्थापना र कैवल्यनाथ मन्दिर निर्माण गर्ने योजना रहेको छ । पर्यटकलाई लक्षित गरी उक्त क्षेत्रमा आधुनिक होटल रिसोर्टलगायतका संरचना निर्माण हुन थालेका छन् ।
धनगढी–डडेलधुरा राजमार्गको छेउमै रहेको यो क्षेत्रलाई सप्त गोदावरीमध्येको प्राचीन गोदावरीका रूपमा लिने गरिन्छ । वृद्ध गौतमीका नामले समेत चिनिने यो क्षेत्रमा भगवान् श्रीकृष्णले स्नान गरेको स्कन्द पुराणमा उल्लेख गरिएकाले यसको धार्मिक महत्त्व ठूलो रहेको छ । यसका साथै गोदावरीमा भगवान् राम, भीष्म पितामह र पाण्डवले पनि स्नान गरेको किंवदन्ती छ ।
काठको पुल आकर्षणको केन्द्रविन्दु
सुदूरपश्चिमका पहाडका जिल्लाहरूलाई जोड्न दशकौँ पुरानो काठको पुल त्यहाँ पुग्नेहरूको रोजाइमा पर्ने गरेको छ । पुल पुरानो भएपछि त्यसको विकल्पमा नयाँ पक्की पुल निर्माण गरिएको छ । पुरानो जीर्ण भए पनि पुल धेरैको रोजाइमा पर्ने गरेको स्थानीय भुवनेश्वरी पाण्डेले बताइन् । ‘पुल कयौँ वर्ष पुरानो हो’, उनले भनिन्, ‘यातायातका साधनहरू जान बन्द गरिएको छ । तर, यहाँ पुगेपछि काठको पुलमा नपुग्ने कोही हुँदैनन् ।’ पुलको रङरोगन गरेमा अझ आकर्षण बढ्ने उनले बताइन् ।
थ्रिडिभिएल क्रिएसनका निर्देशक दीपक ओझाले गोदावरीमा सम्भावना धेरै रहेको बताएका छन् ।

