धनगढी, ८ साउन/कैलाली उद्योग वाणिज्य संघले चार्टर्ड एकाउन्टेन्ट (सीए) चिरञ्जीवी पाठकलाई संघको आर्थिक सल्लाहकारमा मनोनित गरेको छ। संघले पाठकको अनुभव र विज्ञतालाई मध्यनजर गर्दै आर्थिक सल्लाहकारको जिम्मेवारी प्रदान गरेको जनाएको छ। उनको मनोनयनसँगै संघको आर्थिक तथा वित्तीय व्यवस्थापन अझ प्रभावकारी, पारदर्शी र व्यवस्थित हुने विश्वास संघले लिएको छ।
संघका अध्यक्ष पुष्करराज ओझा, वरिष्ठ उपाध्यक्ष केशवराज जोशी तथा उद्योग उपाध्यक्ष लक्ष्मणराज पन्तले संयुक्त रूपमा पाठकलाई मनोनयन पत्र हस्तान्तरण गरेका थिए।
कैलाली उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक दिनेशराज ओझाका अनुसार संघको आर्थिक योजना, बजेट व्यवस्थापन तथा वित्तीय नीति निर्माणमा पाठकको अनुभवले महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
संघले आर्थिक सुशासन र संस्थागत क्षमता अभिवृद्धिलाई प्राथमिकता दिँदै योग्य तथा अनुभवी व्यक्तिलाई जिम्मेवारी दिने क्रमलाई निरन्तरता दिएको जनाएको छ।
