धनगढी , ९ साउन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जोरायल गाउँपालिका सभापति निराजन बिष्टसहितको टोलीले बुडरस्थित छहरा झरनाको स्थलगत अवलोकनपछि त्यहाँ देखिएका सात प्रमुख समस्या सार्वजनिक गर्दै तत्काल समाधान गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
टोलीले स्थानीय, व्यवसायी, झरना व्यवस्थापन समिति, क्यामेराम्यान तथा कर्मचारीसँग छलफलका क्रममा खानेपानी अभाव, फोटोग्राफरहरूको छुट्टै समिति गठन, झरना व्यवस्थापन समितिलाई आवश्यक सहयोग, सडक बत्ती र सीसीटीभी जडान, फोहोर व्यवस्थापन, कर्मचारीलाई समयमै तलब तथा ड्रेसिङ कोठाको सुधार आवश्यक रहेको निष्कर्ष निकालेको हो।
रास्वपाले छहरा झरना पर्यटकीय सम्भावना बोकेको क्षेत्र भए पनि आधारभूत पूर्वाधार र व्यवस्थापनमा कमजोरी रहेको जनाएको छ। गाउँपालिका सभापति निराजन बिष्टले यी समस्या समाधानका लागि आर्थिक मामिला मन्त्री विक्रम धामीसमक्ष प्रस्ताव पेश गरिसकेको जानकारी दिँदै गाउँपालिका, वडा कार्यालय र सम्बन्धित निकायलाई आवश्यक बजेट व्यवस्थापन गरी तत्काल समस्या समाधान गर्न आग्रह गरेका छन्।
