धनगढी ४ साउन/बाजुराको हिमाली गाउँपालिका–५ स्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन्।
धुलाचौरबाट दुधिला खोला तर्फ जाँदै गरेको सुप्रप्र ०१–००१ ज १४७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। जिप हिमाली गाउँपालिका–२, नातीखोला निवासी अन्दाजी २५ वर्षीय जनवीर बुढाले चलाएका थिए।
दुर्घटनामा हिमाली गाउँपालिका–२ का ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका–५ निवासी अन्दाजी ४० वर्षीय अम्मर सिंह बुढाको उपचारका क्रममा कोल्टी आधारभूत अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा चालक जनवीर बुढासहित सात जना घाइते भएका छन्। घाइतेहरूको कोल्टी आधारभूत अस्पताल, बाजुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइते हुनेमा चालक जनवीर बुढा (टाउकोमा चोट, अवस्था मध्यम), मिजरा बुढा, (टाउकोमा चोट, अवस्था मध्यम), अस्मिता थापा (कम्मरमा चोट), जंग सिंह बुढा (हातमा चोट), गोरख रोकाया (हात र टाउकोमा चोट), लोकेन्द्र बुढा (हातमा चोट) तथा सुस्मा बुढा (आँखामा चोट) रहेका छन्। उनीहरूको अवस्था सामान्यदेखि मध्यम रहेको जनाइएको छ।
