धनगढी, ९ साउन / नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारहरूमा सहकार्य गर्ने सहमति भएपछि सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टीले गर्ने भएको छ।
दुई दलबीच भएको सहमतिअनुसार एमालेले तीन प्रदेश सरकारको नेतृत्व गर्नेछ भने नेपाली कम्युनिस्ट पार्टीले कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्ने सहमति भएको छ।
यस सहमतिसँगै सुदूरपश्चिम प्रदेशसभामा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्टका लागि मुख्यमन्त्री बन्ने राजनीतिक बाटो खुलेको छ। लामो समयदेखि मुख्यमन्त्रीको चर्चामा रहेका भट्ट अब दलगत सहमतिअनुसार प्रदेश सरकारको नेतृत्व गर्ने अवस्थामा पुगेका छन्।
प्रदेश सरकार गठनको प्रक्रिया, सत्ता साझेदारी तथा मन्त्रालय बाँडफाँटलगायत विषयमा भने सम्बन्धित दलहरूबीच थप छलफल हुने अपेक्षा गरिएको छ। सहमतिअनुसार आवश्यक संवैधानिक र संसदीय प्रक्रिया पूरा भएपछि सुदूरपश्चिममा नयाँ नेतृत्वसहित सरकार गठन हुने छ ।
