धनगढी, माघ ३०/ बझाङको बित्थडचिर गाउँपालिका—४ का स्थानिय किसान बसन्त बिकले माछापालन सुरु गरेका छन् । सानो जमिनमा सुरु गरेको माछा पालनलाई व्यावसायिक बनाउदै लैजाने उनको सपना छ । माछापालनमा सम्भावना देखेकोले पहिलो पटक आफुले व्यवसाय सुरु गरेको उनले बताए ।
बित्थडचिर गाउँपालिकामा अहिलेसम्म कसैलेपनि माछापालन नगरेको र आफुले यो व्यवसाय पहिलोपटक सुरु गरेको उनको दाबी छ ।
पहाडी क्षेत्रमा माछाको माग बढ्दै गएको आवश्यकतालाई मध्यनजर गर्दै व्यवसाय सुरु गरेको उनको भनाई छ । आर्थिक अभावमा थोरै लगानिमा पोखरी निर्माण गरेर माछापालन व्यवसाय सुरु गरेका छन् । उनले भने, ‘मैले पोखरीमा झण्डै तीन सय संख्यामा माछामा भुरा राखेको छु, यो व्यवसायबाट प्रगति हुने देखेको छु एकैपटक ठुलो लगानिमा काम गर्न आर्थिक समस्या भयो, विस्तारै व्यवसाय नै दर्ता गरेर माछापालन गर्ने मनसाय बनाएको छु ।’
ग्रामीण क्षेत्रमा पनि कृषिका नयाँ आयाममा काम गर्न सकिने भएकाले आफूले नौलो व्यवसाय रोजेको उनले बताए । उनले भने, ‘विभिन्न खोलाबाट संकलन गरेर मैले तीन सय संख्यामा माछाका भुरा पोखरीमा राखेको छु ।’
रोजगारीका लागी भारतका विभिन्न शहर जाने बिकले गाउँमै केही गर्ने सोचका साथ माछापालन व्यवसाय पनि थालेका हुन् । माछाको राम्रो बजार छ । पहिला खोलामा गएर माछा मार्थे । अहिले त्यो चलन विस्तारै हराएकाले माछाको बजार राम्रो हुने उनले दाबी गरे ।
पहिलो पटक सुरु गरेको माछा पालनमा स्थानिय सरकार र संघ संस्थाहरुले सहयोग गरे थप ठुलो पोखरी निर्माण गरेर माछापालन व्यवसायलाई अझै बढाउने योजना रहेको बिकले बताए । उनले भने, ‘हामीले कृषिका नयाँ आयामको खोजी गर्यौं यस्तै प्रशस्त सम्भावना रहेका छन् । यसले हाम्रो गरिबी न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।’
गाउँपालिकाले माछापालन शिर्षकमा बर्षैपिच्छे बजेट बिनियोजन गर्दै आएको भएपनि हालसम्म पालिकामा माछापालन सुरु हुन सकेको थिएन् । रोजगारीका लागि अधिकांश युवा भारतका विभिन्न सहर पसिरहेका बेला बिकले गाउँमै माछापालन व्यवसाय सुरु गरेर नयाँ कामको थालनी गरेको युवा नेता स्थानिय गोबिन्द ढाटँले बताए ।