धनगढी, माघ २८/ नेपाली कांग्रेस कञ्चनपुरका संस्थापक नेता तथा राष्ट्रिय सभाका पूर्वसांसद गंगादत्त जोशीको हृदयघातबाट निधन भएको छ । उनको बुधबार बिहान महेन्द्रनगरस्थित निवासमै ८५ वर्षको उमेरमा हृदयघातबाट निधन भएको हो ।
आँखाको उपचारका लागि कैलाली गेटा आँखा अस्पताल जानका लागि नातिनीको स्कुटीमा बस्ने क्रममा घरकै आँगनमा अचानक हृदयघात भएर पूर्वसांसद जोशी ढलेका बताइएको छ ।
घरको आँगनमा ढलेपछि उपचारका लागि ल्याइएका जोशीको महाकाली अञ्चल अस्पतालले निधनको घोषणा गरेको कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले जानकारी दिए ।
सभापति बोहराका अनुसार जोशीको यसअघि पनि हृदयघात भएको थियो । २०५५ मा राष्ट्रिय सभा सदस्य रहिसकेका जोशी २०५९ मा कांग्रेस कञ्चनपुरको सभापति भएका थिए ।
जोशीको शव श्रद्धाञ्जलीका लागि दिउँसो २ बजे पार्टी कार्यालयमा राखेर आजै दाहसंस्कार गरिने पार्टी सभापति बोहराले जानकारी दिए ।
