धनगढी, माघ २६/ नेपाल कम्युनिष्ट पार्टी मसालको भातृ संगठन अखिल नेपाल युवक संघले बैतडीमा भएको बलात्कार पछि हत्याको घटनाका दोषीलाई तत्काल अनुसन्धान गरि कारवाही गर्न माग गरेको छ।
सुदुरपश्चिम युवक संघले ४० औ स्थापना दिवसका अवसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै देशमा बढ्दै गएको चरम भ्रष्टाचार, हत्या, हिंसा र अस्थिरताका बिरुद्ध शसक्त रुपमा जाने जनाएको छ।
युवक संघले बैतडी हत्या प्रकरणका दोषीलाई कारबाहीका लागि माग गर्दै सरकारलाइ दबाब दिन धनगढी लगायत देशका विभिन्न स्थानमा प्रदर्शन र कोण सभा गर्ने संघका केन्द्रीय सचिव प्रशान्त थापाले बताए। उनले आइतबार काठमाडौंमा भागिरथी भट्टलाइ न्याय माग्दै प्रदर्शन गरिरहेका मसालका नेता तथा कार्यकर्तालाई पक्राउ गर्नु सरकारको दमन भएको भन्दै तत्काल रिहा गर्न समेत माग गरेका छन्।
यस्तै संसद बिघटनले संविधान माथि प्वाल पार्ने काम गरेको र देशलाइ अस्थिरतामा लैजाने तत्वलाई जनताले परास्त गर्ने बेला आएको भन्दै यसका विरुद्ध आफुहरु रहेको थापाले बताए।
भागिरथी भट्ट प्रकरणमा राजनैतिक हस्तक्षेप बिना निष्पक्ष छानबिन सहित चाडो दोषीमाथी कारवाही गर्नुपर्ने अन्यथा शसक्त आन्दोलन चर्किने युवक संघका अध्यक्ष भरत अचार्यले बताए।
