धनगढी, माघ २६/ कन्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष पुग्न लाग्दा समेत अपराधी पत्ता लाग्न सकेको छैन । यता गत बुधवार बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीमा पनि उस्तै प्रकृतिको घटना भएको छ । दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । प्रहरीले पोष्टमार्टमपछि बलात्कार पुष्टि भएको जनाएको छ ।
सामूहिक बलात्कार थियो की भन्नेबारे भागरथीको भेजाइलन स्वाब परीक्षणपछि पत्ता लाग्नेछ । उनको शरिरमा निलडाम, तलको वस्त्र हराएको अवस्थामा गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेका थिए । यतिबेला दोगडाकेदार नै स्तब्ध बनेको छ ।
भर्खरै बुवा गुमाएकी भागरथी आफू पनि सधैँका लागि अस्ताएकी छन् । सनातन धर्म उच्चमाविमा कक्षा १२ मा अध्ययनरत भागरथी स्कुलबाट फर्कने क्रममा गत बुधवार बीच बाटोमै हराइन् । बुधबार अबेरसम्म घरमा नआएपछि उनको खोजी गरिएको थियो । त्यो दिन राती भइसकेकाले भागरथीलाई दोस्रो दिन बिहान मात्रै फेला पारिएको थियो ।
भागरथीको अवस्था निकै दयनीय बनेको थियो । कुनै अभियुक्तले उनलाई जबरजस्ती गरेको थियो । भागरथीले बोक्ने सीमकार्डबाट अभियुक्त पत्ता लगाउन सहज हुने प्रहरीले जनाएको छ । उनको मोबाइलमा भारतीय सीमकार्ड पनि प्रयोग भएकाले भारतीय प्रहरीसँग सहयोग मागिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले बताए ।
घटना भएको थाहा पाउने बित्तिकै प्रहरीले सो स्थानलाई कब्जा गरेको थियो । घटनाका यथेष्ट प्रमाण प्रहरीसँग सुरक्षित रहेको छ ।