कैलालीको बर्दगोरिया गाउँपालिकाले नागरिकहरूको विवरणहरू अनलाइनमा प्रविष्टि करण गर्न थालेको छ । गाउँ सरकारले गत वर्ष देखी पालिकाका ६ वटै वडाबाट अनलाइन प्रणाली सुरु गरेको थियो । वर्तमान अवस्थामा नागरिकका हरेक विवरणहरू अनलाइन प्रणालीमा सुरक्षित गर्न थाले सँगै विगत लामो समय देखी कागजमा सीमित रहेका विवरणहरूलाई समेत अनलाइनमा प्रविष्टि करण गर्न थालिएको हो ।
२०३३ साल देखी कार्यालयका कागज तथा ढड्डामा सीमित रहेका नागरिकका करिब ४० हजार बढी विवरणहरूलाई अनलाइनमा सुरक्षित गर्न थालेको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्कीले बताउनु भयो । केही वर्ष यता प्राय सबै कार्यालयहरूले अनलाइन प्रणाली लागु गरेको र हालका विवरणहरू प्रविष्टि करण गरिरहेको भए पनि विगत देखीका विवरणहरू पनि अनलाइनमा सुरक्षित गर्ने यो देशकै पहिलो कार्यालय भएको गाउँपालिकाको दाबी रहेको छ । गाउँपालिकाले अतिरिक्त समयमा कर्मचारीहरूलाई परिचालन गरी काम अघि बढाएको जनाएको छ ।
२०३३ साल अघिका नागरिकका विवरणहरू सङ्कटकालमा नष्ट भएकाले त्यस पछिका विवरणहरूलाई अनलाइनमा प्रविष्टीकरण गर्न थालिएको हो । पालिकाका सबै वडामा अनलाइन प्रणाली सुरु भइसकेकाले सेवाग्राही प्रति जिम्मेवार बन्दै काम अघि बढाएको पालिकाका पञ्जिकाधिकारी मदनराज जोशीको भनाई छ । कार्यालयले विगतका विवरणहरू प्रविष्ट गर्न थाले सँगै नागरिकका विगत देखीका आवश्यक कागजातहरू अनलाइनमा सुरक्षित हुनुका साथै कार्यालयहरूबाट सेवा लिन सहज र भरपर्दो हुने त देखिन्छ नै सरकारको यो कामले नागरिकका विवरणमा देखिएका त्रुटि समेत सुधार हुने अपेक्षा गरिएको छ ।