धनगढी, माघ २५/ पुरचौडी नगरपालिका-१० धौबिसौना बिजयपुरका धनबहादुर महराले शनिवार साँझ गोली हानेर छोरीको हत्या गरेका थिए। भरुवा बन्दुक आफैसँग बोकेर भागेका उनले मध्यराती फेरि फर्केर आफ्नै घरमा आगो लगाएका छन्।
पुरघाट चौकीबाट गएको प्रहरी टोलीले गोली हानेर हत्या गरेरिएको छोरीको शवको निगरानी गरिरहेका बेला उनले पाम्हत सय मिटर पर रहेको अर्को घरमा आगो लगाएर फरार भएको स्थानीयले बताएका छन्। फरार रहेका महरा अझै फेला परेका छैनन्। ईलाका प्रहरी कार्यालयबाट घटनास्थल गएको टोली आईतवार बिहानसम्म नपुगेको स्थानीयले बताएका छन्। घटनास्थलबाट दुई घण्टाको दुरीमा रहेको पुरघाट चौकीमा रहेको न्यून जनशक्तिका कारण भरुवा बन्दुक सहित फरार रहेका महरालाई समात्न नसकिएको स्थानीय प्रहरीले बताएको छ। पुरघाट चौकीबाट गएको सात जनाको टोली घटनास्थलमै रहेको छ।
घरायसी बिवादका क्रममा स्थानीय महराले आफ्नै अन्दाजी २० बर्षिया छोरी बेलमती लाई शनिवार साँझ गोली प्रहार गरेका हुन्। भरुवा बन्दुकले छोरीको पछाडिबाट पिठ्युमै जोडेर गोली प्रहार गरेर महरा फरार छन्।
