काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोराना भाइरस संक्रमणका कारण अहिले डिजिटल पेमेन्ट निकै चर्चामा रहेको छ ।कोरोना संक्रमण कम गर्नका लागि डिजिटल पेमेन्ट्समा विशेष ध्यान दिनुपर्ने आवश्यकता र मागसँगै यसको प्रयोगमा निकै तीव्रता आएको छ ।
पछिल्लो समय नेपालमा पनि अनलाइनमार्फत् हुने ठगी पनि बढेको छ । त्यसैगरी सामाजिक सञ्जालमार्फत् हुने यस्ता ठगी बढिरहेको प्रहरीको भनाइ छ । सामाजिक सञ्जालबाट ठगी गर्नेहरुको संख्या यतिबेला बढिरहेको छ ।विकसित मुलुकमा हुँदै आएको डिजिटल पेमेन्ट अब विकासोन्मुख राष्ट्रहरुले पनि अवलम्बन गर्ने तयारीमा रहेका छन् र कतिपयले विभिन्न पेमेन्ट गेटवेमार्फत् डिजिटल पेमेन्टलाई निकै बढावा दिइरहेका छन् ।
कोरोना महामारीले अर्थतन्त्रमा निकै क्षति पुर्याए पनि यसलाई विभिन्न अवसरका रुपमा पनि हेर्न थालिएको छ । ती अवसरहरुमध्येको एक हो डिजिटल पेमेन्ट ।कोरोनाका कारण मौलाएको डिजिटल पेमेन्टसँगै सुरक्षाको विषय गम्भीर रुपमा देखिएको छ । डिजिटल पेमेन्टसँगै अहिले विश्वका विभिन्न ठाउँमा अनलाइन फ्रडका घटनाहरु बढेका छन् । जसका कारण डिजिटल पेमेन्ट गर्न वा नगर्ने सम्मको अन्यौल प्रयोगकर्तामा देखिन थालेको छ ।विभिन्न बहाना बनाएर अनलाइन फ्रडमार्फत् उपभोक्ता ठगिन थालेका छन ।
यसरी अनलाइन फ्रड धेरै हुनेमा भारत पनि अग्रस्थानमा छ । भारतमा धेरै मानिसलाई केवाइसी भेरिफिकेसनको बहानामा म्यासेज पठाएर ठगी गरिएको छ ।उक्त म्यासेजमा भर पर्दा धेरैले करिब ४ लाख भारतीय रुपैयाँसम्म गुमाएका छन । उक्त फ्रडबाट धेरै व्यक्ति तथा परिवारनै प्रभावित भएका छन् ।त्यसैगरी अनलाइन ठगहरुका लागि अमेजन गिफ्ट कार्डस पनि अर्को ठग्न माध्यम बनेको छ । कतिपय उपभोक्ता विभिन्न तरिकाले तीनपटकसम्म ठगिएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसरी ठगी धन्दा हुने कतिपय नक्कली एप्सहरुमा कारोबार गर्नका लागि पिन कोड वा सेक्युरिटी कोर्ड हान्न लगाउने र उक्त कोड गलत तरिकाले प्रयोग गरेर ठग्ने गरेका छन् ।कारोबार गर्नका लागि सेक्युरिटी कोड हान्ने वित्तीकै उक्त फोनको पूरै नियन्त्रण फ्रडहरुको हातमा हुन्छ । उक्त प्रक्रियामा सोधिएका र लिइएका विभिन्न सूचनामार्फत अनलाइन फ्रडहरुले बैंकहरुबाट सिधै पैसा निकालिदिने गरेका छन् । यसरी हुने ठगीबाट पैसा गुमाउनुका साथै मानिसलाई मानसिक डर समेत हुने गरेको छ ।
एनिडेक्स एप र गुगल फर्म मार्फत नाम, ठेगाना, बैंक नाम, डेविट कार्ड नम्बर, भ्यालिडिटी मागेर स्टेट बैंक अफ इन्डिया, स्ट्याण्डर्ड चार्टर्ड बैंकलगायत अन्य विभिन्न बैंकबाट व्यक्तिको पैसा निकालिदिएका छन् ।यस्ता विभिन्न ठगीका कारण अहिले कतिपयले बैंकका न्यूनतम व्यालेन्सबाहेक अरु पैसा राख्नै छोडेका छन । पेटिएम लगायत अन्य मुख्य अनलाइन प्लेटफर्महरु समेत प्रयोग गर्न छोडेको बताइएको छ । विज्ञहरुका अनुसार भारतमा यस्ता किसिमका घटनाहरु बढीरहेका छन् ।
अनलाइन फ्रड नयाँ र कोभिड १९ पछि शुरु भएको अपराध भने होइन । विगतमा ठगहरुले प्रख्यात राजनितिज्ञ र सांसदहरुलाई नै ठगेका उदाहरणहरु छन् । तर महामारीले निम्त्याएको आर्थिक मन्दीका साथै अनलाइन पेमेन्टमा भएका उल्लेख्य वृद्धिका कारण अनलाइन फ्रड बढिरहेको छ ।पेटिएम, गुगन पे, फोनपेलगायतका अनलाइन प्लेटफर्म प्रयोगकर्ताहरु विशेषगरी टार्गेटमा परेका छन् ।
डिजिटल कारोबारमा उल्लेख्य बृद्धि र नयाँ प्रयोगकर्ताहरुले क्यासलेस पेमेण्ट गर्न थालेपनि उनीहरुमा चेतना र डिजिटल ज्ञानबारे धेरै कम जानकारी भएको बताइएको छ । जसका कारण केवाइसी अपडेट फ्रडजस्ता अपराध बढेका छन् ।भारतमा जस्तै नेपालमा पनि कोरोनाका कारण डिजिटल पेमेन्टलाई बढावा दिन विभिन्न निर्णयहरु भएका छन् । डिजिटल पेमेन्ट गर्दा विभिन्न छुट तथा अफरहरु समेत आइरहेका छन् ।
फलस्वरुप डिजिटल पेमेन्ट प्रयोगकर्ताहरुको संख्यामा बृद्धि भएको छ । डिजिटल प्लेटफर्ममा प्रयोगकर्ताहरुको संख्या बढेपनि त्यसको सुरक्षाको विषय नेपालमा पनि निकै चासोका रुपमा हेरिएको छ ।
