धनगढी, २२ असोज/ नेपाली काग्रेसको भातृ संगठन नेपाल बिधार्थी संघले कैलालीको गेटामा निर्माणाधिन गेटा मेडिकल कलेज अगाडी प्रर्दशन गरेको छ । निर्माण सम्पन्न भैसकेको अबस्थामा मेडिकल कलेजलाई चाडो भन्दा चाडो संचालनको स्वीकृती दिनुपर्ने लगाएतका माग राख्दै नेविसंघले आज दिउँसो मेडिकल कलेज अगाडी एक घण्टा चक्काजाम गर्दै प्रर्दशन गरेको हो ।
अत्तरिया बजारवाट र्याली सहित मेडिकल कलेज अगाडी पुगेका नेविसंघका सय भन्दा बढी नेता तथा कार्यकर्ताहरुले सरकारी ढुकुटीको पौने चार अर्ब रकम खर्च गरेर तत्काल मेडिकल कलेज सञ्चालन गर्न सकिने भव्य भौतिक पूर्वाधार बनेपनि संचालनको स्वीकृती नपाएको भन्दै मेडिकल कलेज अगाडी एक घण्टा सवारी साधन बन्द गर्दै प्रर्दशन गरिएको कार्यक्रमका संयोजक एबम् नेविसंघका युवा नेता जगत महराले जानकारी दिए ।
उनले निर्माण सम्पन्न भएको मेडिकल कलेज कुनै फाउण्डेसको नभई विश्वबिधालय मार्फत संचालन हुनुपर्ने माग राखे । यस्तै नेकपाका कार्यकर्ता पाल्न कुनै फाउण्डेसनका नाममा ७२ करोड दिनहुने तर मेडिकल कलेज संचालन गर्न १० करोड माग गर्दा साढे ४ करोड मात्रै दिने सरकारको गैरजिम्मेवारी कार्यप्रति प्रश्न गरे ।
कार्यक्रममा बोल्दै उनले आफ्नै गाउँठाउँमा सुबिधा सम्पन्न मेडिकल कलेज बनेपनि त्यसको संचालन बारे कुनै निर्णय नहुनु दुखद रहेको बताए । उनले अब सरकारले गेटा मेडिकल कजेललाई चाडो भन्दा चाडो संचालनको स्वीकृती दिएर संचालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराए ।
साथै यसका लागि यहाँका सम्पूर्ण स्थानियहरुले पनि सहयोग गनुपर्ने उनले आग्रह गरे । यस्तै कार्यक्रममा बोल्दै नेविसंघ शंकरदेव क्याम्पसका नेता दिपक ओझाले यस क्षेत्रमा मेडिकल कलेज बन्नु सुदू्रपश्चिमबासीका लागि एकदमै खुसीका कुरा रहेको बेला संचालन बारे अझै अन्यौल हनु दुखद भएको बताए ।
उनले मेडिकल कलेजलाई बढाउने स्वीकृती तुरुन्त दिनुपर्ने , यही शैक्षिक कार्यक्रम , बिधार्थी भर्ना सुरु गनुपर्ने , अस्पतालका सेवाहरु यही बर्षवाट तुरुन्त सुरु गनुपर्ने लगाएतका माग राखेका छन् । कार्यक्रममा काग्रेश नेता पदमराज भट्ट , तरुण दलका गोदावरी नगर सभापति शंकर खड्का र नेविसंघ दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका पूर्व ईकाइ सभापति पदमराज ओझाले मन्तब्य राखेका थिए ।कार्यक्रमको संचालन नेविसंघका नेता देवराज ओझाले गरेका थिए ।
उता कलेजको पूर्वाधार विकास निर्माण समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले सरकारले अर्बौ लगानी गरेपछि स्वीकृती नदिने भन्ने कुरै नरहेको बताए । उनले अहिले पूर्वाधार निर्माणकै काम जारी रहेकाले यसै बर्ष चैत महिनामा सम्पूर्ण कामहरु सम्पन्न हुने र नयाँ काम पनि चालु आर्थिक बर्षमा सकिएर सुरुमा अस्पताल संचालन र पठनपाठन सुरु हुने बताए ।