धनगढी ७ भदौ-बझाङमा जन्मिएर विश्वभर मानवताको सन्देश फैलाएका मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १४३ औं जन्म जयन्ती हो । उनको जन्म जयन्तीको अवसरमा ह्युमानिटी एण्ड जयपृथ्वी फाउन्डेसनले जुम एप मार्फत छलफल कार्यक्रम आयोजना गर्ने भएको छ ।
आइतबार दिउँसो १२ बजेदेखी जुम छलफल कार्यक्रम सञ्चालन हुने फाउन्डेसनका अध्यक्ष मिन बहादुर सिंहले जानकारी दिए । उनले यस बर्ष कोरोना महामारीको कारण औपचारीक कार्यक्रम आयोजना गर्न नसकिएको बताए ।
गत बर्ष फाउन्डेसले औपचारीक कार्यक्रमहरु आयोजना गरी जयपृथ्वीलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्दै आहस्ताक्षर संकलन अभियानसमेत सञ्चालन गरिएको उनले बताए । उक्त दिवसका अवसरमा आज उनले स्थापना गरेको सत्यवादी उच्च माध्यमिक विद्यालय भोपुरले पनि विभिन्न कार्यक्रम गर्ने तयारी गरेको छ ।
उनलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग लामो समयदेखि उठिरहेको भए पनि सरकारले उनका योगदानको कदर गर्न नसकेको बझाङी समाज कैलालीका महासचिव दिर्घ जोशीले गुनासो गरे । ‘नेपाली भाषा साहित्य, शिक्षा, पत्रकारिताका क्षेत्र उनले गरेको योगदानका कारण यहाँसम्म आइपुगेको हो,’ उनले भने–‘जयपृथ्वीलाई राष्ट्रिय विभुति घोषणा गरिनुपर्ने माग राख्दै आएका छौ, सरकारले अहिलेसम्म सुनवाई गर्न सकेको छैन् ।’
१९३४ साल भदौ ७ गते बझाङको राजपरिवारमा जन्मिएका जयपृथ्वीले नेपालमा सामाजिक सुधारका थुप्रै काम गरेका थिए । मानवतावादको सन्देश फैलाउँदै विश्व भ्रमण गर्ने पहिलो नेपाली हुन । उनले देशमा जहानियाँ राणा शासनको जगजगी भएका बेला पनि सबै मानव बराबर हुन् भन्ने कुराको वकालत गरेका थिए । १९५६ सालमा बझाङमा अदालत स्थापना गरेर न्यायिक सुधारका लागि समेत पहल गरेका थिए ।
उनले १९६२ सालमा काठमाडौंको नक्सालमा रहेको आफ्नै निवासमा सत्यवादी पाठशालाको स्थापना गरी सर्वसाधारणलाई पनि पढ्ने व्यवस्था मिलाएका थिए । सर्वसाधारणलाई शिक्षा दिने उनको यो कदम राणाहरूले मन नपराएपछि सोही नाममा उनले बझाङको मेल्लेकमा विद्यालय खोले । जुन अहिले पनि सञ्चालनमा छ ।
उनले बझाङबाट डोटी हुँदै भारतको टनकपुरसम्म जानका लागि घोडेटो बाटो निर्माण गर्न लगाएका थिए । भोटसँगको व्यापार सहज होस् भनेर बझाङको सदरमुकाम चैनपुरदेखि तिब्बतको मानसरोवरको बाटो पनि उनले नै निर्माण गर्न लगाएका हुन । यसका अलवा उनले बझाङमा हुलाक, कारागारजस्ता कार्यालय पनि स्थापना गरेर यहाँको सामाजिक सुधारमा काम गरेका थुप्रै लिखत भेटिन्छन ।
१९५८ मा गोरखापत्रको प्रकाशन सुरु गरेका उनले १९६४ मा नेपालको भारदारी अड्डाको प्रमुखको जिम्मेवारी सम्हालेका थिए । उनको बहुमुखी प्रतिभा, विकास र मानवतावादी विचारबाट प्रभावित भई तत्कालीन बेलायत सम्राट एडवर्ड सप्तमले उनलाई मानार्थ ‘कर्णेल’ को उपाधिले सम्मान गरेका थिए । १९७२ मा सुरु भएको विश्वयुद्धमा भएको मानव विनाशबाट विक्षिप्त बनेका उनले त्यसै बेला राजकाज परित्याग गरी विश्वभर मानवताको सन्देश फैलाउन हिँडेका थिए ।
त्यस बेला उनले फ्रान्स, बेलायत, जर्मनी, पोल्यान्ड, बेलग्रेट, हंगेरी, भियना, अस्ट्रिया, अमेरिका, थाइल्यान्ड, चीन, जापान, स्वीटजरल्यान्ड, इटली अविसिनिया, बर्मा लगायतका धेरै देशको भ्रमण गरेर त्यहाँ आफ्नो मानवतावादी दर्शनको प्रचारप्रसार गरेका थिए । भम्रणकै क्रममा बर्मामा जे.पी. इन्स्टिच्युट र नेपाली भाषा पाठशाला खोलेका थिए । सन् १९३३ मा अमेरिकाको सिकागोमा भएको विश्व आस्था मन्त्री सम्मेलनमा विभिन्न विषयमा सातवटा प्रवचन दिएका उनको चर्चा त्यसताका विश्वसामु चुलिएको थियो ।
