कञ्चनपुर, १० साउन / सशस्त्र प्रहरीले बेलौरीको सीमामा कडाइ गर्दा भारतबाट आउने फेरीवाला तनावमा परेका छन् । बेलौरी नगरपालिका १० भुडा स्थित सशस्त्र प्रहरी बल बिओपी भुडाले भारतबाट नेपालमा विभिन्न सरसामान बेच्न आउने भारतीय फेरीवालाहरूलाई प्रवेशमा कडाइमा गर्न थालेपछि उनीहरू तनावमा परेका हुन ।
पछिल्लो केही दिन यता सशस्त्र प्रहरीले भारतको कम्बोजनगर, तागिया लगायतका ठाउँबाट भुडा लगायत बेलडाँडी तर्फ आलु, प्याज, तरकारी, फलफूल बेच्न जाने भारतीयहरूलाई कडाइ गरेको थियो ।
उनीहरूलाई कडाइ गरेपछि आइतबार बिहान करिब १५ जना फेरीवालाहरु भुडा आएका थिए । उनीहरू लखिमपुर खीरी ग्राम पञ्चायत कम्बोजनगरका प्रधान मङ्गुलाई लिएर भुडा आएका हुन ।
उनीहरूले भुडा आइ सशस्त्र प्रहरी बल नेपाल बिओपी भुडाका इन्चार्ज जित बहादुर ओलीलाई भेट गरेका थिए । भेटमा उनीहरूले ओलीलाई आफूहरूलाई नेपाल तर्फ व्यापार गर्न पाउनु पर्ने माग राखेका थिए । आफूहरू यसरी नै सरसामान नेपालमा बेची परिवार पाल्ने भन्दै सीमा सहज वातावरण मिलाइदिन आग्रह गरेका थिए ।
यता बिओपी भुडा प्रमुख ओलीले यसरी भन्सार छली मार्फत समान ल्याई बेचबिखन नपाउने बताए । उनले नेपालबाट पनि घरायसी समान ल्याउन भारत जाने र भारतबाट पनि समान नेपाल ल्याइ बेच्ने भएकोले दुवै देशको सुरक्षाकर्मीहरू सँग समन्वय गरी काम गरिने बताए ।
