धनगढी, १० साउन / सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तनको प्रक्रिया निर्णायक मोडमा पुगेको छ। केन्द्रमा बनेको नयाँ सत्ता समीकरणअनुसार नेकपा र नेकपा (एमाले) प्रदेशमा पनि संयुक्त सरकार गठनको तयारीमा जुटेका छन्।
दुई दलबीच भएको सहमतिअनुसार अब प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ। सोहीअनुसार संसदीय दलका नेता खगराज भट्टलाई मुख्यमन्त्री बनाउने तयारी भइरहेको स्रोतले जनाएको छ। यसका लागि भट्ट शीर्ष नेताहरूसँग आवश्यक परामर्श गर्न काठमाडौं पुगेका छन् भने एमालेका नेताहरू पनि केन्द्रमै छलफलमा व्यस्त छन्।
यता, एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ। तर, उनले अझै पदबाट राजीनामा दिएका छैनन्।
नेकपा र एमालेका नेताहरूले भने नयाँ सरकार गठनको बाटो खुलाउन शाहले नैतिक आधारमा तत्काल पद छाड्नुपर्ने बताएका छन्। बजेट ल्याउने संवैधानिक जिम्मेवारीसमेत रहेकाले राजनीतिक अन्योल लम्ब्याउन नहुने उनीहरूको तर्क छ।
संविधानअनुसार मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भए पनि सत्ता समीकरण फेरिएकाले उनको पक्षमा बहुमत जुट्ने सम्भावना कमजोर देखिएको छ।
हाल काठमाडौंमै रहेका मुख्यमन्त्री शाहले केन्द्रको राजनीतिक घटनाक्रम बुझेर धनगढी फर्किएपछि आफ्नो आगामी कदमबारे निर्णय गर्ने अपेक्षा गरिएको छ।
