धनगढी, २५ असोज/पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन २०७९ को प्रथम वार्षिकोत्सवको अवसरमा नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसन सुदूरपश्चिम प्रदेश समितिले धनगढीको देवरियामा रहेको गौशालामा औषधि वितरण गर्नुका साथै सेती प्रादेशिक अस्पताल धनगढीमा विरामीलाई फलफूल वितरण गरेको छ ।
धनगढीको देवरियामा रहेको गौशालाका गाई गोरुलाई औषधि दिइएको छ । गौशालालाई मिनरल र मिनरल ब्लक, मल्हम, कटनका साथै एन्टिबायोटिक औषधि दिइएको हो । कार्यक्रममा नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसन सुदूरपश्चिम प्रदेश समिति (नेभ्ला) का संयोजक धनबहादुर चौधरी, सेती प्रादेशिक अस्पतालका अध्यक्ष नरबहादुर शाह, नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसियसन धनगढी कैलालीका जिल्ला अध्यक्ष विमल जोगी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढी कैलालीमा कार्यरत नेभ्ला सदस्य विजयराम दमाई, देवहरिया गौशालाका अध्यक्ष धनबहादुर शाह, धनगढी उपमहानगरपालिका पशु शाखाका कर्मचारी तथा नेभ्ला सदस्य रंगलाल पाध्याय, नेभ्लाका कार्यसमिति सदस्य र साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।