बैतडी, १३ चैत/ बैतडीको पाटन विमानस्थल फेरि सञ्चालन गर्न १७ करोड रुपियाँ खर्च गरेर धावन मार्ग र टर्मिनल भवन चिटिक्क बनाएपछि हवाई उडान ठप्प भएको छ। विमानस्थल कालोपत्रेपछि २०७७ असोज १७ गते तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले पाटन विमानस्थलको उद्घाटन गर्नुभयो। उद्घाटनपछि हप्ताको एक दिन विमान उडे पनि २०७८ चैत १० गतेयता पाटन विमानस्थल सुनसान बनेको छ।
धावन मार्ग र टर्मिनल भवन चिटिक्क बनेयता एक वर्षसम्म बैतडीको आकाशमा विमान देखा नपरेको स्थानीय वसन्त विष्टले बताए । उडान बन्द हुँदा विमान चढ्ने धोको अधुरै रहेको उनले बताए । हवाई उडान बन्द भएको एक वर्षको अवधिमा यहाँ पाँच करोड ६२ लाख रुपियाँ खर्च गरेर विमानस्थलको नयाँ टर्मिलन भवनको काम सकेर रङरोगनपछि चिटिक्क पारिएको छ। कन्ट्रोल टावरको निर्माण अहिले पनि चलिरहेको इन्जिनियर कवीन्द्र वज्राचार्यले जानकारी दिए ।
पाटनमा विसं। २०३६ देखि २०५२ सम्म कच्ची विमानस्थलमै करिब १६ वर्ष हवाई उडान भयो। द्वन्द्वपछि यो विमानस्थल २५ वर्षसम्म ठप्प रह्यो। विमानस्थल सञ्चालन गर्न करोडौँ रुपियाँ खर्च भए पनि हवाई उडान भने ठप्प हुँदा बैतडीवासी निराश बनेका छन्। २० मिटर चौडाइ र ५८० मिटर लम्बाइ रहेको पाटन विमानस्थल सुदूरपश्चिमको प्रदेश राजधानी धनगढीबाट १७ मिनेटको हवाई दूरी छ। उद्घाटनपछि करिब एक वर्षसम्म हप्ताको एक दिन धनगढी–बैतडी–धनगढी उडान भयो। १७ मिनेटको हवाई दूरीमा यात्रुले करिब पाँच हजार रुपियाँ भाडा तिरेर यात्रा गरे। साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएको थियो। भाडा महँगो भएको यात्रुले गुनासो गर्दै आइरहेका थिए। गुनासोकै बीच एक उडान बन्द भएको छ।
महाकाली अञ्चलको पुरानो सदरमुकामसमेत रहेको बैतडीको पाटन विमानस्थल पहाडी जिल्लाको सम्पर्क बिन्दुसमेत हो। देशका १० नयाँ सहरमध्ये बैतडीको पाटन नयाँ सहर आयोजनाको कार्यालय स्थापना भएको छ। राज्यले करोडौँ रुपियाँ खर्च गरेपछि उडान नियमित गरेर बैतडीवासीले सहुलियत दरमा सेवा पाउनुपर्ने स्थानीयवासीले माग गरेका छन्। सरकारले सरकारी स्वामित्वको हवाई सेवा सञ्चालनका लागि पहल गरेर हवाई सेवा दिनुपर्ने नागरिक समाज बैतडीका प्रकाश चन्दले माग राखेका छन् ।
हवाई सेवा बन्द हुँदा जिल्लाबाट आकस्मिक रूपमा बिरामी भएकालाई सुविधा सम्पन्न अस्पतालमा लैजान समस्या भएको स्थानीय जयराम भुलले बताए । नियमित हवाई उडानले सहज सेवाका साथै यहाँको व्यापार व्यवसाय प्रवद्र्धन हुने आशा पलाए पनि अहिले निराश हुनु परेको उनले बताए । चुनावका बेला सबै राजनीतिक दलले पाटन विमानस्थललाई भोट तान्ने माध्यम बनाए पनि हवाई उडानमा कुनै पनि दलका नेताले चासो नदिएको स्थानीयवासीले बताएका छन्।