कञ्चनपुर,१२ कार्तिक/ पढाइदिने भन्दै भारत लगिँदै गरेको अवस्थामा गड्डाचौकी नाकामा रोकिएका बालबालिकालाई आफन्तको जिम्मा लगाएर घर पठाइएको छ । मं
गलबार बालबालिकाका अभिभावकको जिम्मा लगाएर सुरक्षाकर्मीसँगै घरतर्फ पठाइएको हो ।
गत साता पढाइका लागि भन्दै हुम्लाको सिमकोट गाउँपालिका–८ का २२, हुम्लाकै खार्पुनाथ गाउँपालिका–२ का २ र अछामको साँफेबगर नगरपालिका घर भई हुम्ला सिमकोटमै बस्दै आएका १ गरी २५ जना बालबालिकालाई भारत लगिरहेको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रोकेको थियो । एसएसबीले रोकेका बालबालिकालाई गड्डाचौकीस्थित शान्ति पुनःस्थापना गृहमा राखिएको थियो ।
बालबालिकालाई पढाइका लागि भारतको उत्तराखण्डस्थित देहरादुनको शाक्य सेन्टरमा भाषा र कम्प्युटरलगायत पढाइदिने भन्दै लगिँदै गरेको हो । ‘भाषा पनि सिकाइदिन्छु, कम्प्युटर पनि पढाइदिन्छु भन्यो, हामीले त्यही भएर छोरालाई पठाएका हौं,’ छोरा लिन गड्डाचौकी पुगेका हुम्ला सिमकोटका मेयरसिंह बुढाले भने, ‘अब घरमै लगेर सरकारी स्कुलमै पढाउँछु, ज्याला मजदुरी गरेर भए पनि छोरालाई कहीँ पठाउँदैन ।’
बुढाले कम्प्युटर र चिनियाँ भाषा सिक्ने लोभमा १४ वर्षीय छोरालाई देहरादुन पठाएका हुन् । चिनियाँ भाषा सिकेमा तिब्बतमा राम्रो जागिर पाइने उनी बताउँछन् ।
‘गाउँमा रोजगारी केही छैन, राम्रो स्कुलमा पढाउन पनि सकिँदैन, छोराको भविष्य बन्ला भनेर पठाएका हौं,’ सिमकोटकै जयकर्ण बुढाले भने, ‘यस्तो हुन्छ भन्ने थाहै थिएन, अब गाउँमै पढाउँछु ।’ उनीहरूसँगै बालबालिकालाई घर लैजान सिमकोटबाट ४ जना अभिभावक गड्डाचौकी पुगेका छन् । उनीहरूका अनुसार देहरादुनमा गुम्बामा पढाइका लागि यसअघि पनि गाउँबाट थुप्रै बालबालिका लगिएका छन् ।
बालबालिकाको अहिलेसम्म खाना र बसोबास शान्ति पुनःस्थापना गृहकै व्यवस्थापनमा गरिएको छ । यसैगरी, यात्राका क्रममा बालबालिकाका लागि न्यानो लुगा तथा घरसम्म पुग्ने यातायात र बाटोको खानाको खर्च सामुदायिक विकास केन्द्र डोटीले व्यवस्थापन गरेको छ । १५ हजार ४ सय रुपैयाँका न्यानो लुगा तथा यातायात र बाटोमा खानाका लागि १ लाख ९५ हजार रुपैयाँ अभिभावकलाई दिएको केन्द्रका प्रतिनिधि तिलक चौधरीले बताए । उनका अनुसार केन्द्रले हुम्लामा पनि बालबालिकाका क्षेत्रमा काम गरिरहेकाले अहिले घर पठाइएका बालबालिकाको पुनःस्थापनादेखि उनीहरूको पढाइमा समेत आवश्यक सहयोग गरिनेछ ।
बालबालिकालाई भारत लैजाने मुख्य व्यक्तिसहित ४ जनाका नाममा मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ता गरिएको छ । शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक सञ्जित सिंहका अनुसार बालबालिकासँग पनि बयान लिने काम सकेपछि घरतर्फ पठाइएको हो । उनका अनुसार बाजुरा बडिमालिका नगरपालिका–८ का कुरुगा छोसांग लामा र हुम्लाकै पञ्चवीर बुढा, नन्दवीर बुढा र चेतन रावतविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बालबालिकाको विषयलाई गम्भीर रूपमा लिएर अनुसन्धान तथा आवश्यक कारबाहीको काम भइरहेको बताए । ‘अहिले भारततर्फ लैजानेहरूलाई पक्राउ गरेर मुद्दा दर्ता भइसकेको छ,’ उनले भने, ‘थप अनुसन्धानको काम पनि भइरहेको छ ।’
महेन्द्रनगरबाट गड्डाचौकीसम्म ठाउँठाउँमा सुरक्षाकर्मीदेखि महिला र बालबालिकाका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका बिटहरू राखिएका छन् । तर यही नाकाबाट २५ जना बालबालिका नेपालको नाका काटेर भारतीय एसएसबीको चेकपोस्टमा पुगेपछि मात्रै रोकिनुले नेपालतर्फका सुरक्षा निकायमाथि समेत प्रश्न खडा भएको छ । यस विषयमा पनि स्थानीय प्रशासनले आवश्यक कदम चाल्नुपर्ने स्थानीय बताउँछन् ।