धनगढी, ९ असोज । कैलालीमा मोटरसाइकलको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका २ कोठारपुरमा से ६ प ३१८१ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही नगरपालिका २ विजयनगर शिविर बस्ने ७० वर्षीय भोकारी थारुको ज्यान गएको हो।
प्रहरीका अनुसार शनिबार साँझ उनको मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि कोहलपुर बाँकेतर्फ पठाइएको छ। मोटरसाइकल चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।