धनगढी,३ कात्तिक । केही दिनदेखिको अविरल बर्षापछि आएको बाढीपहिरो र डुवानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ ।
गृहमन्त्रालयबाट आज बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन्। विपद्मा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले बताए । सम्पर्कविहीन व्यक्तिको सङ्ख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ ।
अहिलेसम्मको प्राप्त विवरणअनुसार डोटीमा ७,इलाममा ७, पाँचथरमा ६, धनकुटामा ६, सुनसुरीमा ६, कालीकोटमा एक, डडेलधुरामा एकसहित ३१ जनाको मृत्यु भएको उनले बताए ।
उनले पहिरोमा परेर हुम्लामा छ, बझाङमा २३, कैलालीमा चारसहित विभिन्न जिल्लाका ४३ जना बेपत्ता भएका उनले बताए । अहिलेसम्म विभिन्न जिल्लाबाट ७ सय जनाको उद्धार गरिएको छ । प्राप्त विवरणमा बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ ।