धनगढी, २३ असोज / धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ अभियानलाई निरन्तरता दिँदै वडा नम्बर ६ को ढुङ्गे बजारमा ३७ औँ हाइमास लाइट जडान गरेको छ । ‘एक वडा, एक व्यापारिक केन्द्र’ कार्यक्रमलाई ध्यानमा राखेर ढुङ्गे बजारमा हाइमास लाइट जडान गरिएको उपमहानगरपालिकाले जनाएको छ । नयाँ जडान गरिएको हाइमास लाइटको वडा नम्बर ६ का वडाध्यक्ष भागीराम चौधरीले उद्घाटन गरेका छन ।
ढुङ्गे बजार व्यस्त व्यापारिक क्षेत्रसँगै सार्वजनिक आवागमनको महत्वपूर्ण स्थान भएकाले हाइमास लाइट सञ्चालनमा आएपछि रातिको समयमा बजार तथा आसपासका क्षेत्रमा आवागमन र सार्वजनिक गतिविधि सहज हुने अपेक्षा गरिएको छ । उपमहानगरपालिकाका अनुसार नगरका विभिन्न क्षेत्रलाई उज्यालो, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत हाइमास लाइट जडानलाई निरन्तरता दिइएको हो ।
यसअघि नगरका विभिन्न स्थानमा हाइमास लाइट जडान गरिसकेको उपमहानगरपालिकाले व्यापारिक केन्द्र, सार्वजनिक आवागमन बढी हुने क्षेत्र तथा आवश्यक स्थानलाई प्राथमिकतामा राखेर अभियान अघि बढाइरहेको जनाएको छ ।