धनगढी, २३ असोज / सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर विभिन्न चर्चा परिचर्चा भइरहेका बेला आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम चौधरीले बजेट छिट्टै आउने बताएका छन्।
वार्षिक प्रगति समीक्षा एवं असल अभ्यास अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले प्रदेश सरकारको बजेटबारे भइरहेको चर्चालाई आफूले स्वाभाविक रूपमा लिएको बताए। उनले बजेटको विषयमा सरकारका तर्फबाट पनि ठूलो कमजोरी रहेको स्वीकार गरे।
सुदूरपश्चिम प्रदेश सरकारको बजेट लामो समयदेखि अन्योलमा रहँदा बजेट कहिले आउँछ भन्ने चासो बढिरहेका बेला मन्त्री चौधरीले छिट्टै बजेट आउने बताएका हुन्।
यस्तै, सोही कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापाले भोलिसम्म बजेटले निकास पाउने बताइन्। उनले अदालत बजेटको निकासमा तगारो नबन्ने विश्वास व्यक्त गरिन्।