• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

जाने होइन त सुदूरपश्चिम घुम्न ?

धनगढी, ११ असोज । पश्चिमी नाका भएर नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भएपनि ती पर्यटकहरू सुदूरपश्चिम प्रदेशमा टिक्दैनन् । उनीहरू कैलाली कञ्चनपुर भएर आए पनि घुम्नका लागि भने पूर्वतिर जान्छन् । अध्यागमन कार्यालय कैलाली र कञ्चनपुरको तथ्यांक हेर्दा बर्सेनि प्रदेशमा विदेशी पर्यटकहरू आउने क्रम बढेको देखिन्छ ।

तर, भारत हुँदै तेस्रो मुलुक भएर नेपाल आउने पर्यटकहरूको रोजाइमा यहाँका पर्यटकीय स्थलहरू भने पर्न सकेका छैनन् । सुदूरपश्चिम भएर काठमाडौं, पोखरालगायत देशका अन्य ठाउँ घुम्न जाने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ ।

अध्यागमन कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार सन् २०१८ को नोभेम्बरसम्म पश्चिमी सीमा नाका गड्डाचौकी भएर नेपाल आएका पर्यटकको संख्या सन् २०१७ को तुलनामा केही बढी छ ।

तेस्रो मुलुकबाट आउने पर्यटकको संख्यामा कमी आए पनि भारतीय पर्यटक भने महिनामा करिब चाररपाँच सयको हाराहारीमा आउने गरेको अध्यागमन कार्यालयले जनाएको छ । कञ्चनपुरको गड्डाचौकी नाकाबाट पनि तेस्रो मुलुकका पर्यटकको संख्या बढ्न सकेको छैन ।

अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार गत वर्षको जनवरीदेखि अगस्टसम्ममा यो नाकाबाट १ हजार ८ सय ९६ जना पर्यटक भित्रिएका थिए । सन् २०१९ को सोही अवधिमा गड्डाचौकी नाकाबाट १ हजार ८ सय ६३ जना पर्यटक भित्रिएको अध्यागमन कार्यालयले जनाएको छ । तर, तिनीहरूमध्ये सुदूरपश्चिम मात्रै घुमेका वा घुम्न चाहने पर्यटकको संख्या भने वृद्धि हुन सकेको छैन ।

विगतमा बाक्लै आउने भारतीय तथा भारत हुँदै सुदूरपश्चिम भित्रिने पर्यटकको संख्यामा समेत वृद्धि हुन सकेको छैन । सन् २०१८ मा जम्मा ८६ जना पर्यटकको आगमन भएको थियो । यस्तै, सन् २०१९ अगष्टसम्म त्रिनगर नाका भएर ५५ विदेशी पर्यटक भित्रिएका छन् ।

अध्यागमन कार्यालय कैलालीले दिएको तथ्यांकअनुसार यो नाका भएर सन २०१९ अगष्टसम्ममा आएको कुल पर्यटनमध्ये सबैभन्दा बढी पर्यटकअस्ट्रेलियाका छन् ।

यस वर्ष अष्ट्रेलियाका १३ पर्यटक यस नाकाबाट आएका छन् । सन् २०१८ मा कुल पर्यटकमध्ये अमेरिकाका २७ जना यो नाका भएर भित्रिएको अध्यागमन कार्यालय कैलालीका प्रमुख यादव भण्डारीले बताए ।

तर, तिनीहरूमध्ये अधिकांश पर्यटकहरू भने सुदूरपश्चिमका पर्यटकीय स्थल छोडेर पूर्वका पोखरा, लुम्बिनी र काठमाडौं जाने गरेका छन् ।

पर्यटकीय स्थलको प्रचार प्रसारका लागि उल्लेख्य प्रयास नभएकै कारण विदेशी पर्यटकको रोजाइमा सुदूरपश्चिम पर्न नसकेको हो । यदि प्रदेशमा बाह्य पर्यटकहरु टिकाउने हो भने प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रमहरू ल्याउनुपर्ने, प्रदेशका पर्यटकस्य स्थलहरूको प्रचारप्रसारका लागि पर्चा, पम्प्लेट र विभिन्न होडिङ बोर्डहरू लगाउनुपर्ने भण्डारीले बताए ।

बाटोको असुविधा, बसोबासको उचित व्यवस्था नहुँदा र यहाँका पर्यटकीय स्थलहरूको पहिचान नहुँदा कहाँ घुम्ने भन्ने अन्योलता हुने गरेको पर्यटकहरू बताउँछन् ।

के सुदूरपश्चिममा पर्यटकीय क्षेत्रहरू छैनन् त  ?

सुदूरपश्चिममा धेरै सुन्दर र मन लोभ्याउने ठाउँहरू छन् । यद्यपि, प्रदेशका पर्यटकीय स्थलहरूलाई लक्षित गरेर कार्यक्रमहरू नल्याइँदा यहाँका पर्यटकीय स्थलहरू ओझेलमा परिरहेको स्थानीय राजेन्द्र बिष्टले बताए । सुदूरपश्चिम प्रदेश भारतीय बजारको नजिक र प्रवेशद्वारको रूपमा रहेको भए पनि यस क्षेत्रको पर्यटन जति विकसित हुनुपर्ने हो, त्यति हुन सकेको छैन ।

प्रचारप्रसारको अभावका कारण यहाँका कैयौँ पर्यटकीय स्थलहरू ओझेलमा छन् । यद्यपि, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट भने आफूहरू प्रदेशको विकासका लागि गम्भीर रहेको बताउँदै योजना बनाएर प्रदेशका पर्यटकीय स्थलहरूको प्रवर्द्धनमा लाग्ने बताइन् ।

प्राकृतिक पर्यटकसँगै यस प्रदेशमा धार्मिक पर्यटनको पनि प्रचुर सम्भावना छ । तर, सम्बन्धित पक्षले चासो नदेखाउँदा ती क्षेत्रको विकास हुन सकेको छैन ।

पर्यटन क्षेत्रको विकासका लागि निजीक्षेत्रको लगानी बढाउन आवश्यक छ । योसँगै प्रदेश सरकारले पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रमहरू ल्याएर, पर्यटकीय स्थलहरूको प्रचारप्रसारमा लाग्ने हो भने भारत हुँदै नेपाल आउने पर्यटकहरूको रोजाइ सुदूरपश्चिम नै हुनेछ ।

सुदूरपश्चिममा यस्ता धेरै ठाउँहरू छन्, जुन ठाउँले पर्यटकहरूको मन लोभ्याउँछ । सुन्दर सुदूरपश्चिम प्रदेशमा हिमालका टाकुरादेखि पहाडका रमाइला फाँट, उपत्यका, भित्रीमधेश र तराईका हरिया फाँटहरू, हिम शृङ्खलालगायत अरु धेरैै ठाउँहरू छन् । सुदूरपश्चिम प्रदेशमा घुम्नका लागि उपयुक्त केही गन्तव्य यस्ता छन् ।

कैलाली
नेपालकै लामो नदी कर्णाली र त्यही नदीमा निर्माण गरिएको एकखम्बे पुल सुदूरपश्चिमलाई काठमाडौंसँग तराईका अन्य जिल्लासँग जोड्ने प्रमुख द्वार हो । यो पुलको लम्बाइ ५ सय मिटर र चौडाइ १४ मिटर छ ।

सुन्दर कर्णाली नदीको अवलोकन गर्न र कर्णाली नदी स्वादिष्ट माछासँगै र्‍याफ्टिङ आनन्दका लागि यहाँ दैनिकजसो आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन् ।

राजकाँडा

कैलालीको लम्कीदेखि करिब १६ किलोमिटर उत्तरतर्फ मोहन्याल गाउँपालिका– ७ मा स्थित राजकाँडामा सूर्योदयको दृश्य नजिकैबाट देख्न सकिन्छ ।

राजकाँडा केवलकार निर्माणका लागि अध्ययन गरिदै « Anumodan National Daily

हावापानीका दृष्टिले पनि उपयुक्त रहेको यो क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै गइरहेको छ ।

टीकापुर पार्क

स्वीट्जरल्याण्डको लक्साल शहरको नक्साअनुरुप रेखाङ्कन गरिएको टीकापुर पार्क करिब ५ विगाहमा फैलिएको छ । यहाँ ८० प्रकारका गुलाब फूल र विभिन्न प्रजातिका बिरुवाहरू पाइन्छन् । यो पार्क विशेष गरी पिकनिक खान आउने पर्यटकहरूका लागि प्रमुख रोजाइमा पर्ने गरेको छ ।

Tikapur Park opens after eight months

यद्यपि वि.सं २०२८ सालमा तत्कालीन राजा महेन्द्रले यहाँबाट एक महिना नेपालको राजकाज चलाएको इतिहासका कारण यसको गरिमा अझ बढेको छ । काठमाडौं–टीकापुरको दूरी ६९० किलोमिटर छ । काठमाडौंबाट टीकापुरसम्म बस चल्छन् ।

प्रकाशेश्वर महादेव मन्दिर

कैलालीको टीकापुर नगरपालिकास्थित सत्ती बजारमा रहेको प्रकाशेश्वर महादेवको मन्दिर नेपालमै प्रसिद्ध छ । पूर्वतर्फ मुख फर्किएको सबभन्दा ठूलो तथा दुर्लभ शिवलिङ्ग भएको यो मन्दिरको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने विश्वास छ । यो मन्दिर टीकापुर बजारभन्दा ९ किलोमिटर दक्षिणतिर पर्छ ।

घोडाघोडी ताल

कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी ताल विश्वरामसार सूचीमा सूचीकृत एउटा महत्त्वपूर्ण ताल हो । यो ताल दुई हजार पाँच सय ६३ हेक्टरमा हातको पञ्जा आकारमा फैलिएको छ । हत्केला आकारको यो तालका १९ वटा उपतालहरू छन् ।

अतिक्रमणको जोखिममा घोडाघोडी ताल - Khabar Break

करिब २ सय ४५ प्रजातिका चराचुरुङ्गी, गोही, पानी हाँस, जंगली धानलगायतका लागि यो क्षेत्र अत्यन्त रमणीय र आकर्षक मानिन्छ । यो ताल पुग्नका लागि धनगढीबाट ६० किमी पूर्व यात्रा तय गर्नु पर्दछ । यहाँ पुग्न धनगढीबाट १ सय ५० रुपैयाँ गाडीभाडा लाग्छ ।

कैलालीको राणाकालीन दरबार

कैलाली जिल्लाको चुरे गाउँपालिकाको खैरालास्थित गर्वा दरबार सुदूरपश्चिममै एक मात्र राणाकालीन दरबार हो । यो जीर्ण अवस्थामा छ । तर, विक्रम सम्बत १९८२ सालमा निर्माण गरिएको उक्त दरबारको ऐतिहासिक महत्त्व भने कम छैन ।

गर्भा दरबार - विकिपिडिया

प्राकृतिक रूपले तराई र लेकको विशेषता एउटै गाविसमा पाइने खैरालामा पनि आन्तरिक तथा बाह्य पर्यटकहरू लोभिने गरेका छन् । चौमालाबाट १८ किलोमिटर उत्तरतर्फ पर्ने यो दरबार चौमालाबाट ६ घण्टा पैदल हिँडेपछि पुगिन्छ । राणाहरुले दरबार बनाउन प्रयोग गरेको इँटा गर्भाको डाँडामा बनाएको इतिहास रहेको छ ।

तालतलैयाहरू

कैलालीमा रहेका सानाठूला गरी १ सय ९३ ताल तलैया पनि यहाँका प्रमुख आकर्षण हुन् । तिनमा पनि पूर्वपश्चिम राजमार्गको राजीपुर बजारदेखि ६ किलोमिटर दक्षिणतर्फ पर्ने कोइलाही कोइलहुवा ताल, पूर्वपश्चिम महेन्द्र राजमार्गको चौमाला बजारदेखि ७ किलोमिटर दक्षिणतर्फ पर्ने जोगनिया ताल, धनगढी बजारदेखि १२ किलोमिटर पूर्वतर्फ रहेको धनगढी उपमहानगरपालिका– १ मा रहेको मनमोहक महादेवा ताल, धनगढी बजार क्षेत्रदेखि ५ किलोमिटर पूर्वतर्फको धनगढी उपमहानगरपालिका ७ स्थित जाखौर ताल पनि आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइ बनेका छन् ।

भादा होमस्टे

थारू जीवनशैली र संस्कृतिका लागि भादा गाउँ प्रख्यात मानिएको छ । धनगढी उपमहानगरपालिका– १६ मा रहेको भादा होमस्टे गाउँ तथा थारू समुदायका जनजीवनलगायत विशेष खानेकुराका परिकारहरूले पर्यटकको मन लोभ्याउने गर्छ ।

रौनकविहीन थारु गाउँ | Khash Khabar

धनगढीबाट बेली हुँदै भादागाउँ १७ किलोमिटर पूर्वपश्चिम राजमार्गको चौमाला खण्डको राजीपुरबाट ७ किलोमिटर र झिलबाट १२ किलोमिटरमा रहेको यो गाउँ धनगढी बजारदेखि २० किलोमिटर पूर्वमा पर्छ ।

गोदावरी

कैलाली जिल्लामा रहेको गोदावरीमा पनि नेपालकै ठूलो हनुमानको मूर्ति हेर्नेहरूको घुइँचो लाग्छ । अत्तरियाभन्दा ७ किलोमिटर उत्तरतर्फ रहेको गोदावरीमा बजरंगवली हनुमानको मूर्ति छ । हनुमान मन्दिर सेवा समिति कैलालीको पहलमा मूर्तिकार प्रभुराम महराले निर्माण गरेको ५२ फिट अग्लो मूर्ति नेपालकै सबैभन्दा अग्लो मूर्ति हो । धनगढीबाट २० किलोमिटर उत्तरतर्फ गोदावरीस्थित हनुमान मूर्ति पुग्न सकिन्छ । यहाँ जान ६० रुपैयाँ भाडा लाग्ने गर्छ ।

खानीडाँडा

गोदावरीबाट २२ किलोमिटरमाथि चुरे नगरपालिकाको खाँनीडाडा प्राकृतिक रूपमा मनोरम स्थल हो । चिसो मौसममा गर्मी र गर्मी मौसममा पनि चिसो अनुभव गर्न पाइने खानीडाँडाबाट पहाडका रमणीय दृश्य देख्न सकिन्छ । यहाँ प्रायः गर्मी मौसममा गर्मी छल्न आन्तरिक पर्यटकहरू आउने गर्छन् ।

पर्यटकीय गन्तव्य बन्दै खानीडाँडा

चुरे शृंखलाको सबैभन्दा उच्च भागमा रहेको खानीडाँडाबाट कात्तिक महिनामा सैपाल हिमाललाई प्रत्यक्ष रूपमा हेर्न सकिन्छ । यहाँ ब्राम्हण, क्षत्री, जनजातिको बसोबास रहेको छ । यहाँको स्थानीय परिकार त्यसमा पनि लोकल कुखुरा यहा निकै प्रचलित छ ।

यसका साथै कैलाली जिल्लामा रहेको बेहडा बाबा मन्दिर, नवदुर्गा मन्दिर, नैनादेवी भगवती मन्दिर, वनदेवी भगवती मन्दिर, रामजानकी मन्दिर, नेपालको सबैभन्दा अग्लो १ सय ८ फिट उचाइको शिवलिंग भएको शिवपुरी धाम, कम्पासेधुरा डाँडा पनि पर्यटकको रोजाइमा पर्ने स्थानहरू हुन् । चुरे गाउँपालिका क्षेत्रको कम्पासेधुरा डाँडाबाट कैलालीका विभिन्न स्थानहरूका साथै उत्तरतर्फका अपी, सैपाललगायतका हिमालहरूको दृश्य देख्न सकिनछ । यो स्थान धनगढीदेखि गोदावरी हुँदै उत्तरतर्फ करिब ४३ किलोमिटरमा पर्छ । महाशक्ति स्वरुपा देवी आश्रम पनि आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि घुम्न लायक ठाउँहरू हुन ।

कञ्चनपुर
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

कञ्चनपुर जिल्लामा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगेका साथै अन्य जीव–जन्तुहरू पनि प्रशस्त देख्न पाइन्छ । दिउँसो ३ बजेभित्र आरक्ष प्रवेश गरेर घाम नडुब्दै बाहिरिनुपर्छ । भित्र जीप ड्राइभ, हात्ती सफारी र जंगल वाक गरिन्छ । निकुञ्जभित्र सानाठूला धेरै फाँटा छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुलेपनि आएनन् पर्यटक

हिरापुर फाँटामा कृष्णसार संरक्षण गरिएको छ । आरक्षको एकछेउ हात्तीसार रहेको छ । जहाँ हात्ती चढ्न पाइन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ, खरायो, हात्ती, गैँडालगायत विभिन्न प्रजातिका चरासमेत हेर्न पाइन्छ । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटाभित्र आधा दर्जनभन्दा बढी तालहरू छन् ।

यो भित्रका रमणीय तालमा ताराताल, रानीताल, बठनिया ताल, बाउन्नेताल, शिकारीताल, सलगौडी ताल र बाबाताल हुन् । ३ सय ५ वर्गकिलोमिटरमा फैलिएको शुक्लाफाँटा आरक्षको कुल भू–भागको १० प्रतिशत सिमसारक्षेत्र छ । जुन विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थानको रूपमा रहेको छ ।

१० हेक्टर क्षेत्रफलमा फैलिएको ताराताल चरासँगै मगर गोहीको बासस्थान पनि हो । शुक्लाफाँटा वन्यजन्तु आरक्ष जंगल सफारीका लागि उत्कृष्ट गन्तव्यस्थल हो । काठमाडौं–महेन्द्रनगर ७ सय किमि १८ घन्टाको बस यात्रा तथा काठमाडौं–धनगढी १ घन्टा हवाई यात्रापश्चात धनगढी–महेन्द्रनगर ५७ किलोमिटरको दूरी तय गर्नुपर्छ ।

धनगढीबाट महेन्द्रनगरका लागि सार्वजनिक यातायातका साधनहरू पाइन्छन् । महेन्द्रनगर बजारबाट निकुञ्जका लागि साना सवारीसाधनहरू भाडामा लिएर जान सकिन्छ । यहाँ पुग्न ३ सय रुपैयाँ भाडा लाग्छ ।

लिंगा

कञ्चनपुर जिल्लाको बेतकोट नगरपालिकामा रहेको लिंगा पुग्न दैजीबाट करिब ५ किलोमिटर उत्तरतर्फ जानुपर्छ । शिवलिंगको स्वरुपजस्तै पहाडका डाँडा भएकाले यसलाई लिंगा भनिएको हो । मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ पर्यटकहरू यहाँ जाने गरेका छन् ।

कञ्चनपुरका मनमोहक लिंगा र बेदकोट ताल [यात्रा संस्मरण] - Everest Dainik -  News from Nepal

बाह्रै महिना पर्यटक आउने लिङ्गामा फागुनमा शिवरात्रि र असोजमा नवरात्री मेला लाग्ने बेला झनै भीड लाग्ने गर्छ । लिंगाबाट करिब ६ किलोमिटर उत्तरतर्फ गयौं भने बेतकोट तालको अवलोकन गर्न सकिन्छ । यो ताल ठूलो क्षेत्रमा फैलिएर रहेको छ ।

बेतकोट ताल

साथै प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको बेतकोटमा पिकनिक खान आउनेहरूको पनि भीड हुन्छ । कञ्चनपुरको दैजीबाट उत्तरतर्फ पर्ने बेतकोट र लिंगाको अवलोकन गर्न जाँदा अटो रिजर्भ गरेर पर्यटकहरू जाने गर्छन् । कञ्चनपुरमा पर्ने लिंगा र बेतकोट ताल पुग्न धनगढीबाट डेढ सय रुपैयाँ भाडा लाग्छ ।

File:Betkot lake (बेतकोट ताल) 3 - panoramio.jpg - Wikimedia Commons

दोधारा चाँदनी

कञ्चनपुर जिल्लामा रहेको दोधारा चाँदनी पुल पनि नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल हो । यसले नेपाल पारिका दुई ठाउँ दोधारा र चाँदनीलाई जोडेको छ । यहाँ बर्सेनि हजारौं स्थानीय र बाह्य पर्यटकहरू दोधारा चाँदनी पुलको अवलोकन गर्न आउने गरेका छन् । यहाँ पुलको अवलोकन गर्ने र पिकनिक मनाउन आउने पर्यटकहरूको भीड हुन्छ ।

दोधारा चाँदनी झोलुङ्गे पुल मर्मत सुरु, दैनिक ७ घण्टा आवागमन बन्द | Ujyaalo  Online:: Nepal News, Nepali Samachaar

गर्मी मौसममा महाकालीछेउको चिसो हावाको आनन्द लिन पनि आन्तरिक पर्यटकहरू त्यहाँ जाने गर्छन् । दोधारा चाँदनी पुग्न धनगढीबाट ५५ किलोमिटर पश्चिम महेन्द्रनगर बजारसम्म साझा सवारी र त्यसपछि साना सवारी र अटोको व्यवस्था छ ।

यसबाहेक कञ्चनपुरमा रहेको सिद्धबाबाको मन्दिरमा पूर्णागिरिको दर्शन गरी आउने भारतीय धार्मिक पर्यटकको पनि घुइँचो लाग्छ । विष्णु मन्दिर, बैजनाथ मन्दिर, कलपटे मन्दिर, ब्रह्मदेव मन्दिर र पुल, झिलमिलिया ताल, महाराज गुरु आउनुभएको ठाउँ भम्केनी धामलगायतका पर्यटकको मनै लोभ्याउने ठाउँहरू कञ्चनपुरमा छन् ।

डडेल्धुरा
धनगढीबाट डडेल्धुरा १ सय २८ किलोमिटर पर्छ । यो ठाउँ प्रायः सबै पर्यटकहरूले रुचाएका छन् । जहाँ प्रकृतिको सुन्दर रूपसँगै ऐतिहासिक महत्त्व बोकेका थुप्रै भौतिक संरचनाको अवलोकन गर्न सकिन्छ । डडेल्धुराका प्रसिद्ध मन्दिरहरूमा उग्रताराको मन्दिर र घटाल बाबाको मन्दिर, भागेश्वर, जोगबुडा उपत्यकामा रहेको भगवान् परशुरामको मन्दिर हुन् ।

डडेल्धुरा पुग्नेहरूको पहिलो रोजाइ उग्रतारा मन्दिर हुन्छ । यो सुदूरपश्चिमकै ठूलो शक्तिपीठ मानिन्छ । यो मन्दिर डडेल्धुरादेखि ४ किलोमिटर पश्चिमपट्टि छ । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा पर्ने प्रसिद्ध मन्दिर बागबजारबाट करिब ५ किलोमिटर टाढा डडेल्धुरा–बैतडी राजमार्गको पश्चिमतिरको अग्लो तथा रमणीय फाँटमा छ ।

अमरगढी किल्ला

डडेल्धुरामा रहेको ऐतिहासिक किल्ला हो अमरगढी किल्ला । यो किल्ला रहेको उचाई अन्दाज ६५०० फिट छ । ऐतिहासिक दृष्टिले यो किल्ला महत्वपूर्ण मानिने भएकाले यो किल्लाको अवलोकन गर्नका लागि पनि पर्यटकहरूको घुइँचो लाग्छ ।

ऐतिहासिक अमरगढी किल्ला जीर्ण

अजयमेरूकोट

डडेल्धुराको अजयमेरू गाउँपालिकामा रहेको अजयमेरूकोट दरबारले पनि एउटा छुट्टै इतिहास बोकेको छ । यहाँ पुराना कला र शैलीमा निर्माण गरिएका नौला, देवलको भौतिक र प्राचीन धरोहरको अवलोकन गर्न सकिन्छ । पर्यटकलाई आकर्षित गर्न र उनीहरूको सेवा सुविधा ध्यानमा राखेर स्थानीय हाटगाउँमा नै घरबास पनि सञ्चालनमा ल्याइएको छ ।

सुदूरपश्चिमका यी ठाँउ जो घुम्नलायक छन्

रहनसहन तथा परम्परा, चिसो वातावरण, प्राकृतिक सौन्दर्यता त्यहाँका मुख्य आकर्षण हो । डडेल्धुरा बजारबाट करिब १० किलोमिटर दक्षिण पश्चिमतर्फ यो ठाउँ पर्छ । दुई घण्टा पैदल हिँडेपछि अजयमेरूकोट दरबार पुगिन्छ । तर, हाल भने साझा सवारीसाधन पनि पाइन्छ ।

घटाल स्थान

डडेल्धुराबाट ४ किमि दक्षिणमा अमरगढी नगरपालिकामा पर्ने घटाल स्थानमा रहेको घटाल बाबाको मन्दिरको दर्शनबाट मनोकांक्षा पूरा हुने विश्वास छ । यहाँ असोज कात्तिक, दसैँ र वैशाख बिसुका बेला ठूलो मेला लाग्ने गर्छ ।

सुदुरपश्चिमको प्रसिद्ध घटालस्थानको पुर्वाधार निर्माण सुरु - Press Sandesh

आली ताल

आलीताल गाउँपालिकामा पर्ने आली ताल र परशुराम नगरपालिकामा पर्ने पशुराम धाम पनि आन्तरिक तथा बाह्य पर्यटकहरूले रुचाएका सुन्दर ठाउँहरू हुन् । जहाँ धार्मिक महत्त्वका साथसाथै प्रकृतिको सुन्दर, रमणीय रूप पनि देख्न सकिन्छ ।

डोटी
डडेल्धुराबाट ६० किलोमिटरमा उत्तरतर्फ पर्ने डोटीमा घुम्न लायक ठाउँहरूमध्ये प्रसिद्ध तीर्थस्थलहरू हुन् । जगदम्बा शैलेश्वरी, ध्रुवेश्वर, योगेश्वर, कालभैरवका मन्दिरहरू, ठूला केदार र डोटीको उत्तरतर्फ रहेका पाँचवटा गुफा, जसलाई अखङ्गाल गुफा पनि भनिन्छ ।

र्‍याफ्टिङ

सेती नदीमा हुने र्‍याफ्टिङले धेरै आन्तरिक र बाह्य पर्यटकको मन लोभ्याउने गर्छ ।

शैलेश्वरी मन्दिर

शैलेश्वरी माताको मन्दिर सुदूरपश्चिको डोटी जिल्लाअन्तर्गत सिलगढीमा अवस्थित छ । यो मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक स्थलको रूपमा रहेको छ ।

सुदूरपश्चिमको प्रसिद्ध शैलेश्वरी मन्दिर - Pokhara News

यहाँ हरेक वर्ष जेठ र कात्तिक पूर्णिमाका दिन लक्षबहन महायज्ञ प्राचीनकालदेखि हुँदै आएको छ । यहाँ पनि धार्मिक आस्था बोकेका र प्रकृतिको सुन्दरताको आनन्द लिन आन्तरिक र बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्छ ।

बैतडी
डडेल्धुराबाट ८३ किलोमिटरको यात्रापछि बैतडी पुग्न सकिन्छ । यहाँ रहेका प्रसिद्ध भगवतीका मन्दिरहरूमा त्रिपुरा सुन्दरी, निङ्गलाशैनी, मेलौली र डिलाशैनी, भगवती मन्दिर, जगन्नाथ देवता, भूमेश्वर महादेवको गुफा, पाटनको ठाकुर उदयदेव मन्दिर, कृष्ण मन्दिर, शिवनाथ मन्दिर हुन् ।

यसमा पनि जिल्लाको तल्लो स्वराड अन्तरगत पर्ने महाकाली नदी र सुर्नया नदीको मध्यमा एउटा दीपाकारजस्तै बनेको अति सुन्दर मैदानमा अवस्थित प्रसिद्ध मेलौलीको मन्दिर धेरै पर्यटकको रोजाइ बनेको छ ।

यो प्राकृतिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक तथा हरेक दृष्टिकोणबाट उल्लेखनीय छ । मेलौली तल्लो स्वराडको मध्य क्षेत्रमा बैतडी सदरमुकामबाट १२ कोश टाढा अर्थात् एक दिनको पैदल दूरीमा पर्छ । यो मन्दिर समुद्री सतहबाट लगभग १७ सय मिटरको उचाइमा अवस्थित छ । यहाँको हावापानी बाह्रै महिना समशितोष्ण रहन्छ । यहाँ बाह्रै महिना आन्तरिक र बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्छ ।

निङ्गलासैनी

निङ्गलासैनी मन्दिर बैतडी जिल्लाको देहीमाडौंमा अवस्थित छ । निङ्गलासैनी मन्दिर सुदूरपश्चिम प्रदेशकै प्रमुख मन्दिर मानिन्छ । यस मन्दिरमा हरेक वर्षको बडा दसैं र चैते दसैंमा राँगा र बोकाको बलि दिने चलन छ ।

निङ्गलाशैनी मन्दिर - विकिपिडिया

यस मन्दिरमा टाढाटाढाबाट भक्तजन र पर्यटकहरू आउने गर्छन् । पाताल भूमेश्वरजस्ता धार्मिक पर्यटकीय स्थल पनि बैतडीमै पर्छन् ।

खप्तड

पश्चिम नेपालको सेती अञ्चलका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगम स्थलमा अवस्थित रहेको खप्तड आन्तरिक र बाह्य पर्यटकको भीड लाग्ने क्षेत्र हो । खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर २२ वटा पाटन छन्, जुन अवलोकन गर्दा पर्यटकहरूको मन प्रफुल्ल हुन्छ । सुदूरपश्चिमको सबैभन्दा प्रसिद्ध गन्तव्यस्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मंसिरसम्मको समय उपयुक्त मानिन्छ ।

खप्तड : दूर रहेन सुदूरको सुन्दर स्वर्ग

समुद्री सतहबाट २ हजार ७ सयदेखि ३ हजार २ सय २७ मिटरसम्मको उचाइमा २ सय २५ वर्गकिलोलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज विश्वमै अति दुर्लभ दलदले घाँसे मैदान हो ।

चारैतिर खस्रु, धुपीसल्ला र लालीगुराँसको घारीका बीचमा रहेको पाटन, रङ्गिविरङ्गी फूलहरू, दह, त्रिवेणी, नागढुङ्गा, खप्तडबाबाको आश्रम सुन्दर घनघोर जंगल खप्तडको विशेषता हो ।
यस्ता प्राकृतिक दृष्य नियाल्दै जाँदा कलकल बग्ने दर्जनौं खोला, त्रिवेणी सीतापाइला मन्दिर, त्रिवेणी धाम २२ पाटनको सुन्दरताले यहाँको आकर्षणमा सुगन्ध थपेको छ ।

धनगढीबाट डोटीको सिलगढीसम्म सार्वजनिक यातायातका साधन पाइन्छ । सिलगढी झिकरानासम्म भाडाको गाडी र त्यहाँबाट एक दिनको पैदल हिँडेपछि खप्तड पाटनमा पुगिन्छ ।

अछाम
रामारोशन

यो क्षेत्र अछाम जिल्लाको रामारोशन गाउँपालिका अवस्थित पर्यटकीय क्षेत्र हो । बाह्र बण्ड, अठार खण्डका नामले चिनिने यो क्षेत्रमा रहेका बाह्रवटा ताल र अठारवटा ठूलाठूला चौरले सबै पर्यटकहरूको मन लोभ्याउँछ । प्राकृतिक दृष्टिकोणले अत्यन्तै रमणीय यो ठाउँमा बाह्र प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ ।

रामारोशन विकासको मापक के ? – Sajha Hub

रामारोशनमा गुफा र झरना छन् । यहाँको मुख्य मैदान किनिमिनी, रामे र रोशन हुन् । जैविक विविधतामात्रै होइन, माओवादी जनयुद्ध पनि अध्ययन गर्न सकिन्छ रामारोशनमा । रामारोशनमा घुम्ने सिजन असोजदेखि मंसिर र फागुनदेखि जेठसम्म बढि उपयुक्त मानिन्छ । यहाँ पुग्न, काठमाडौंबाट धनगढी, डडेल्धुरा, डोटी हुँदै मंगलसेनसम्म सडक यात्रा तय गरी तिमल्सिना सडकबाट ४२ किलोमिटर कच्ची सडक यात्रा गर्नुपर्छ ।

बाजुरा
बाजुराको बडिमालिका सुदूरपश्मिको प्रसिद्ध धार्मिक स्थल हो । बुढीनन्दा, छेडेदह पनि यहाँका घुम्नलायक ठाउँ हुन् ।

बडिमालिका

भूस्वर्गको उपमा पाएको बडिमालिका नेपालकै उत्कृष्ट गन्तव्य हो । भगवान शिवले लामो समय बसोबास गरेको मानिने बडिमालिका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसाबले पनि महत्त्वपूर्ण छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका गहना हुन् ।

बडिमालिका मन्दिर : बाजुरा जि.स.स

यहाँका सौन्दर्य भनेकै विशाल फाँटहरू हुन् । बाह्रै महिना चिसो र कुहिरो लाग्ने भएकाले यहाँको प्राकृतिक सौन्दर्यता नियाल्न विशेष समयको पर्खाइ गर्नुपर्ने हुन्छ । यो ठाउँ समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ ।

दार्चुला
अपि बेस क्याम्प

दार्चुलाको अपि हिमाल ९७,१३२ मिटर० आधार शिविरसम्म पदयात्रा रमाइलो हुन्छ । जहाँ अपि र नम्पा हिमालसँगै रिङदेपानी, कायाकोर, कालीढुंगा र बबईलगायतका हिउँचुली लहरै रहेका छन् ।

धर्तीको एक स्वर्ग, अपि नाम्पा(फोटो फिचर) | Dinesh Khabar

चमेलिया नदी अपि र नम्पा चुलीको फेदबाट बहन्छ । चमेलिया जलविद्युत परियोजनाको बाँध बिटलेबाट नदी किनारैकिनार उकालो चढ्नुपर्छ । असार–साउनमा बेस क्याम्पतिर यार्सागुम्बा टिप्नेको मेला लाग्छ । त्यहाँ हिउँचितुवा, रेडपान्डा, मृग, घोरल, झारल, भालु आदि पाइन्छन् ।

डाँफे, मुनाललगायतका चरा पनि देख्न सकिन्छ । धनगढीबाट डोटी, डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको बिटलेसम्म बसमा र त्यस पछि ७ दिन पदयात्रा पछि अपि बेस क्याम्प पुगिन्छ ।

उँकु दरबार

पश्चिममा डोटी राज्यको दबदबा रहेको बेला दार्चुलाको महाकाली किनारमा रहेको सुरम्य फाँटबाट महाकालीपारिको हाल भारत अधीनस्थ कुमाउँ र गढवालमा शासन गर्ने पालवंशी राजाहरूको दरबार हो ।

तपोवन

प्राचीन समयमा ऋषिमुनीहरूले कैलाशपतिको कष्टसाध्य तपस्या गरेर लोकहितका अनेक कृयाकलापका लागि शिव–पार्वतीलाई खुशी तुल्याएको क्षेत्र हो– तपोवन ।

शैल्य शिखर मालिकार्जुन धाम

राष्ट्रकै सातौं धामको मान्यता पाएको मालिकार्जुन शिव भगवानको बासस्थान हो भने शैल्यशिखर व्रतालुहरूका लागि तपोभूमिका रूपमा वर्णित छ । यहाँ कात्तिक र असार शुक्ल चतुदर्शी गरी वर्षमा दुईपल्ट ठूलो मेला लाग्दछ । जहाँ नेपालका मात्र होइन, भारतीय तीर्थालुसमेत ठूलो संख्यामा आउँछन् ।

गोकुलेश्वर

दार्चुला र बैतडीको सीमा छुट्याएर बग्ने चौलानी नदीको किनारमा अवस्थित सुन्दर नगर गोकुलेश्वरको अर्को परिचय हो– धार्मिक तथा पर्यटकीय महत्त्व । यहाँ विभिन्न देवीदेवताका मन्दिरका साथै रमणीय प्राकृतिक स्थलहरू छन् ।

व्यास उपत्यका

नेपालको विशिष्ट पहिचान बोकेको र अन्य समुदायभन्दा फरक सौका समुदायको बसोबास रहेको व्यास उपत्यका दार्चुलाको पश्चिमोत्तर कुनामा पर्छ । कैलाश मानसरोवर प्रवेश गर्ने मुख्यद्वार व्यास उपत्यका नै हो । उपत्यकाको प्राकृतिक सौन्दर्यका साथै सौका समुदायको वैभवशाली परम्परा र संस्कृति यहाँको मनै लोभ्याउने अर्को आकर्षण हो ।

कालापानी

व्यास उपत्यकालाई पूर्वदक्षिणमा पारेर केही किलोटिर उकालो चढेपछि आउँछ, नेपालकै चर्चित ठाउँ कालापानी । सबै नेपालीले सुनेको नाम कालापानी पुग्न भने निकै कष्टकर छ ।

कालापानी–लिपुलेक अतिक्रमणः भारतले पठायो वार्ताको प्रस्ताव - Suryodaya Online

नेपालतिर सडक सुविधा नभएकाले व्यास उपत्यका र कालापानी पुग्न भारतीय मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ । भारतले मिचेको नेपाली भूमीमा पुग्न भारतकै बाटो प्रयोग गर्नुपर्ने बाध्यताले राष्ट्रवादको नारा र धरातलीय यथार्थलाई बुझाउन मद्दत गर्दछ ।

घुसा–खण्डेश्वरी

उत्तरमा चीन र पूर्वमा बझाङ जिल्लाले छोएको दार्चुलाको अति रमणीय ठाउँ हो, घुसा खण्डेश्वरी । अपि हिमालको काखमा बसेको सुन्दर घुसार र खण्डेश्वरी पर्यटकका लागि भर्जिन स्थल हुन् । यहाँ पुग्नका लागि गोकुलेश्वरबाट चौलानीको किनारैकिनार उकालो लाग्नुपर्छ, जुन यात्रा बेनीबाट मुस्ताङ जानेजस्तै रोमाञ्चक र आनन्दायक हुन्छ ।

यस्ता सयौं धार्मिक स्थल सुदूरपश्चिम प्रदेशका हरेक जिल्लामा छन् । यति मात्र नभई यहाँको डेउडा, दसैं, होली, गौरा, फाग, धुमारी, चैत, भैली, थारू समुदायको माघी, सखिया नाचलगायतका संस्कृतिहरू सुदूरपश्चिममा विद्यमान छन् । त्यस्तै, यहाँका नदीमा र्‍याफ्टिङ, डुंगा दौड तथा जलयात्राको समेत आनन्द लिन सकिन्छ ।

पर्याप्त पर्यटकीय सम्भावना रहे पनि सुदूरपश्चिमका गन्तव्य पर्यटकका रोजाइमा पर्न सकेका छैनन् । पूर्वाधार विकास र प्रचारप्रसारको कमीले यहाँ पर्यटक आउन नसकेका हुन् । पर्यकलाई आकर्षित गर्न सरकारी तथा निजी क्षेत्रले पनि प्रभावकारी कार्यक्रम ल्याएका छैनन् ।

सुदूरपश्चिममा पर्याप्त पर्यटकीय क्षेत्र छन् । खप्तड, बडिमालिका, सैपाल हिमाल, अपि हिमालसँगै थुप्रै धार्मिक पर्यटकीय क्षेत्र भएको सुदूरपश्चिमले पर्यटक भने पर्याप्त भित्र्याउन सकेका छैनन् । सरकारीस्तरबाट पर्यटकीय पूर्वाधार विकासमा ध्यान नदिँदा सुदूरपश्चिम पर्यटकको रोजाइ पर्न सकेको छैन ।

प्राकृतिक क्षेत्रको अवलोकनका लागि आउने पर्यटकहरूलाई आवतजावतका लागि यातायातको सुविधा नहुनु, सबै जिल्लामा विमानस्थल सञ्चालन नहुनु, संचालन भएका स्थानमा पनि महँगो हवाइ भाडा, रोयल्टी महँगो हुनु, पर्यटकलाई उद्धारको व्यवस्था नहुनु पर्यटक आकर्षण हुन नसक्नुका कारण बनेका छन् ।

यसबाहेक सुविधासम्पन्न होटल खोल्न जग्गा तथा सस्तो ब्याजको व्यवस्था जस्ता कार्यक्रम सरकारले ल्याउन सकेको छैन ।

सोमबार, असोज ११, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.