धनगढी: बैतडीमा तत्काल अक्सिजन अभाव नरहेको जनाइएको छ। एक हप्ता अगाडिसम्म अक्सिजनको चरम अभाव खेपिरहेको जिल्ला अस्पताल, बैतडीमा तत्काललाई अक्सिजनको अभाव टरेको हो।
विभिन्न सहयोगी निकायहरुले अक्सिजन सिलिण्डरको व्यवस्था गरेपछि तत्काललाई अक्सिजनको अभाव टरेको जिल्ला अस्पताल, बैतडीले जनाएको छ।
एक हप्ता अगाडि अक्सिजनको अभाव भए पनि हाल अक्सिजनको अभाव नरहेको जिल्ला अस्पताल, बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले बताए। संक्रमित भई समस्या भएका बिरामीलाई अस्पताल आउनसमेत आग्रह गरिएको छ। हाललाई अक्सिजन अभाव हटेको छ उनले भने,‘बिरामीलाई अस्पतालमा अक्सिजन पाइन्न कि भन्ने शंका रहेको भए त्यो शंकालाई हटाउन आग्रह गर्छौं।’
यसअघि अस्पतालमा १९ वटा मात्रै अक्सिजन सिलिण्डर रहेकोमा हाल २५ ठूला र ६ साना गरी जम्मा ३१ वटा रहेका छन्। जसमध्ये ४ वडामात्रै प्रयोगमा रहेका अस्पतालका हेल्थ असिस्टेन्ट हरिश पन्तले बताए।
पन्तका अनुसार अस्पतालमा रहेका १४ कन्सन्ट्रेटरमध्ये ९ वटा कोभिडका लागि प्रयोग गरिएका छन्। उनले भने,‘अस्पतालमा भरिएका अक्सिजन सिलिन्टरहरु समेत बाँकी रहेकाले अहिलेलाई अक्सिजनको समस्या छैन।’
जिल्ला अस्पतालमा हाल कोरोनाका १० जना बिरामी भर्ना भएका छन्। जसमध्ये ४ जनाको अक्सिजनको सहायताले उपचार भइरहेको छ।
यस्तै, अस्पतालमा बनाइएको आइसोलेसन सेन्टरमा बेडको अभाव पनि नरहेको जनाएको छ। आइसोलेसन सेन्टर १४ बेड क्षमताको रहेकोमा १० जना मात्रै भनाए रहेका हुन्। केही दिन अघिसम्म संक्रमित बढी भर्ना भएकाले बेड अभाव रहेकोमा हाल बेड अभाव पनि नरहेको डाक्टर जोशीले बताए। उनले भने,‘बेड अभावले बिरामीको उपचार हुन नसक्ने अवस्था छैन्, अब केही बेड खाली रहेकोले उपचार गर्न समस्या छैन।’
लक्षण देखिएका बिरामीलाई अस्पतालमा भर्ना भएर उपचार गर्नसमेत अस्पतालले आग्रह गरेको छ। यस्तै अवस्था रहे कोभिडका बिरामीको उपचारमा समस्या नहुने र अन्य नर्मल वार्डहरुमा समेत बिरामी भर्ना गर्न सुरु गरिने अस्पताल प्रशासनले जनाएको छ।
यसैबीच जिल्ला प्रशासन कार्यालयले कसैसँग खाली सिलिण्डर भए अस्पताललाई बुझाउन आग्रह गरेको छ। अस्पतालमा अक्सिजन अभाव हुन नदिन सिलिण्डर भए बुझाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए।
यसका साथै प्रशासनले राहतका नाममा प्रशासनको अनुमति बिना सहयोग संकलन नगर्नसमेत भनेको छ। बैतडीमा हाल ८ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने ११ जनाको मृत्यु भइसकेको छ।