धनगढी: कोरोनाको संक्रमण उच्च रुपमा बढ्दै गएका बेला कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको छ। अत्यावश्यक कार्यबाहेक बाह्य क्षेत्रमा हिँडडुलसमेत गर्नमा बन्द गरिएको छ।
निषेधाज्ञाको बेला कृष्णपुर नगरपालिका २ बाणिस्थित वीरेन्द्र स्मृति सामुदायिक वनमा सुकुम्बासीका नाममा जग्गा अतिक्रमण गरी टहरा निर्माण गर्ने कार्य गरिएको छ।
सकुम्बासीका नाममा सामुदायिक वनमा बाँसका १२ बढी टहरा निर्माण गरिएको पाइएपछि सशस्त्र प्रहरी र सामुदायिक वनका पदाधिकारीले भत्काएका छन्।
टहरा निर्माण गर्नेहरुलाई त्यस क्षेत्रबाट शनिबार हटाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बताए।
‘अवैध रुपमा सामुदायिक वनको जग्गा अतिक्रमण गरी बनाइएका टहरा भत्काएका छौं’ उनले भने, ‘टहरा निर्माण गर्नेहरुलाई सम्झाई बुझाई त्यस क्षेत्रबाट भगाईएको छ।’
तीन दिनअघि मात्रै कृष्णपुर नगरपालिका १ स्थित नव दुर्गा महिला सामुदायिक वनको जग्गा अतिक्रमण गरी बसेका झण्डै सय बढी व्यक्तिहरुलाई सव डिभिजन वन कार्यालय बाणी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सामुदायिक वनका उपभोक्ताको सहयोगमा हटाइएको थियो।