धनगढी: कैलालीमा बुधबार साँझ आएको हावाहुरी र बर्षाका कारण एक जनाको मृत्यु भएको छ । हावाहुरीका कारण घरमाथि रुख ढल्दा टिकापुर १ एकतानगरका ४० वर्षीय देउकला कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले कैलालीले जनाएको छ ।
रातको करीब ८ बजे कच्ची घरमाथी ढलेको रुखले च्यापिएर कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरीक्षक भरत चौधरीले जानकारी दिए ।
यस्तै कैलालीको घोडाघोडी नगरपालिका साढेपानीमा कलक बहादुर रोकायाको घरमा चट्याङ्ग परेको छ । चट्याङ्गका कारण घरमा क्षती पुगेको छ । घरमा बिद्युतीय मिटर बक्स, बाइरिङग सहितका सामानहरु बिग्रीएका र नष्ट भएका छन् ।
उता कैलारी गाउँपालिका ५का अंकित बोहराको घरको छाना उडाएको छ । घरको छाना उडाउँदा घरमा राखिएको अन्नपात तरकारी लगायतमा ७० हजारको क्षती भएको प्रहरीले जनाएको छ ।
हावाहुरीले जिल्लाका विभिन्न स्थानका घर, गोठ तथा विद्युतका पोलमा क्षति गरेको छ । धनगढीमा पनि हावाहुरी र बर्षाका कारण बिभिन्न ठाउँमा बिद्युत सेवा अवरुद्ध भएको छ ।