धनगढी: सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले पहाडी जिल्लाका अस्पतालमा सञ्चालन नभई थन्किएका भेन्टिलेटर फिर्ता मागेकोप्रति मौलिक जरोकिलो पार्टीले आपत्ति जनाएको छ । उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै मौलिक जरोकिलो पार्टी सुदूरपश्चिम प्रदेशले आपत्ति जनाएको हो ।
जराकिलेले भनेको छ,”कोरोना संक्रमणको महाव्याधी अघि पर्याप्त तयारी गर्नुपर्ने बेलामा कुर्सीको लुछाचुंडी समय खेर फाल्ने र समय घर्किसकेपछि प्रयोगमा नआएको भन्दै भेन्टिलेटर जस्तो संवेदनशील स्वास्थ्य सामग्री फिर्ता माग्नु दुर्गम क्षेत्रका जनतामाथि अन्याय गरेको पार्टीको ठहर छ ।”
कोरोना संक्रमण समुदायमा फैलिदै गएको हुँदा अत्यावश्यक जनशक्ति र स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्नुपर्नेमा उल्टै भेन्टिलेटर फिर्ता लैजानु मुर्खतापूर्ण कार्य भएको पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीले बताए ।
जिल्ला अस्पतालहरूबाट भेन्टिलेटर फिर्ता लिने निर्णय तत्काल सच्याउँदै आवश्यक जनशक्तिको व्यवस्था गर्न मौलिक जरोकिलो पार्टी, सुदूरपश्चिम प्रदेश सरकारसंग जोडदार माग गरेको छ ।
