धनगढी: गत साता जानकी गाउँपालिका ३ की ५९ वर्षीया एक महिलाको टीकापुर अस्पतालमा उपचारका क्रममा ज्यान गयो । कोरोना संक्रमित उनको साँझ साढे ५ बजे ज्यान गएको थियो । दोस्रो दिन बिहान ११ बजेसम्म उनको शव अस्पतालको शव गृहमा नै रह्यो । शव त्यहाँ रहनुको कारण थियो, शव व्यवस्थापनको अन्यौलता ।
मृत्युलगत्तै उनका आफन्तले टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावललाई खबर गरे । जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीलाई समेत खबर गरे । तर पनि शव व्यवस्थापनको टुंगो लागेन । अघिल्लो साँझ साढे ५ बजे नै मृत्यु भएका आफन्तको भोलि बिहान ११ बज्दा समेत शव व्यवस्थापनको टुंगो नलागेपछि उनका आफन्तले नगरपालिकाले दिएको पीपीइ सेट लगाएर आफै शव व्यवस्थापन गरे ।
लम्कीचुहा नगरपालिका वडा नं। ३ व्यवस्थितनगरका ३८ वर्षीय एक युवकको टीकापुर अस्पतालमा मंगलबार साँझ ८ बजे ज्यान गयो । उनका आफन्तले एम्बुलेन्स खोजे । गाडी खोजे । ट्याक्टर समेत नपाएपछि लम्कीचुहा नगरपालिकाको ट्याक्टर मागेर बुधबार बिहान ९ बजे मात्रै शव उठाए । पीपीइलगायतको स्वास्थ्य सामग्रीबिना नै उनीहरुले आफन्तको अन्तिम संस्कार गरे ।
टीकापुर नगरपालिका ८ का २५ वर्षीय एक युवकको धनगढीस्थित एक निजी अस्पतालमा मंगलबार ज्यान गयो । कोरोनाबाट संक्रमित ती युवाको शव व्यवस्थापनका लागि अर्को उपाय नभएपछि उनका आफन्तले झण्डै ९० किलोमिटरको दुरीमा रहेको सदरमुकाम धनगढी पुगेर नेपाली सेनाको टोलीको सहयोगमा राति ८ बजे गोदावरी नदीमा अन्त्येष्टि गरे ।
यी त केही उदाहरण मात्र हुन्। कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै मृतकको शव व्यवस्थापन आफन्तलाई निकै सकस हुने गरेको छ । कोरोना संक्रमणको शुरुवाति चरणमा मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गथ्र्यो । विस्तारै आफन्तले नै शव व्यवस्थापन गर्न थालेका थिए । दोस्रो चरणमा के गर्ने भन्ने अन्यौल रहँदा मृतकका आफन्तलाई शव व्यवस्थापनमा सकस हुने गरेको हो ।
लम्की चुहा नगरपालिका वडा नं। ३ का अध्यक्ष भक्तबहादुर चलाउनले शव व्यवस्थापन कसले कसरी गर्ने भन्ने बारेमा जानकारी नहुँदा मृतकका आफन्तलाई थप पीडा हुने गरेको बताउँछन् । ‘एउटा त आफन्त बितेको पीडा छ, अर्कातर्फ समयमै शव व्यवस्थापन हुन नसक्दा उनीहरुलाई थप पीडा भइरहेको छ’ अध्यक्ष चलाउने भने ‘नेपाली सेनाको टोलीसँग समन्वय गरेर सुरक्षित तरिकाले शव व्यवस्थापन गरिनु पर्दछ ।’ स्थानीयलाई शव व्यवस्थापनबारे स्पष्ट जानकारी नहुँदा समेत सकस हुने गरेको हो ।
कतिपयले पीपीई सेट लगाएर दाहसंस्कार गर्ने गरेको भएपनि कतिपयले भने विनासुरक्षा नै दाहसंस्कार गर्ने गरेका छन् । कोरोना संक्रमणबाट ज्यान गएकाहरुको शव व्यवस्थापन उचित सुरक्षा मापदण्डबिना नै गरिनुले संक्रमणको जोखिम बढी हुने नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समितिका अध्यक्ष योगेश रावल बताउँछन् ।
‘आममान्छेलाई त्यो पीपीइ लगाउनै आउँदैन, त्यसले कोरोना संक्रमणको जोखिम झन बढी हुन्छ, ुअध्यक्ष रावलले भने, ‘मृतकको शव उचित तरिकाले समयमै व्यवस्थापन गरेर मृतकका आफन्तलाई राहत दिनुपर्छ, यो राज्यको दायित्व पनि हो ।’
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले शव व्यवस्थापनमा कठिनाई भए पनि नेपाली सेनाका दुईटा टोली बनाएर शव व्यवस्थापन गरिरहेको बताए । जोशीका अनुसार धनगढी क्षेत्रका लागि एउटा टोली र कैलालीका पूर्वी क्षेत्रका लागि नेपाली सेनाको पहलवानपुरस्थित कालीरक्षा दल गणबाट एउटा टोली बनाइएको छ ।
कैलालीमा दुई ढंगले शव व्यवस्थापन भइरहेको जोशीले बताए । होम आइसोलेसनमा बसेकाहरुको शव आफन्तले नै सुरक्षा मापदण्ड अपनाएर गर्ने र अस्पतालमा मृत्यु भएकाहरुको शव व्यवस्थापन सेनाको टोलीले गर्दै आइरहेको छ ।
‘सिसिएमसीबाट प्राप्त कोरोना संक्रमित भएर मृत्यु भएकाको शव व्यवस्थापन कार्यविधि २०७७ अनुसार नै सेनाको टोलीले गर्दै आएको छ’ सूचना अधिकारी जोशीले भने, ‘मृतकको संख्या धेरै हुनु, स्थानीय तहले उपलब्ध गराउनु पर्ने स्वास्थ्य सामग्री आदिको व्यवस्थापनले गर्दा समय लागे पनि शव व्यवस्थापन भइरहेको छ ।’
जोशीले कोरोना संक्रमित व्यक्तिको निधन भए आफन्तले पनि सद्गत गर्न सक्ने बताए । मास्क, पीपीइ ग्लब्स लगाएर शव प्लास्टिकले बेरेर सदगत गर्न सकिने उनले बताए ।अन्नपुर्णबाट
