धनगढीः बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरका सहचालक कैलालीको चुरे गाउँपालिका ६ का १८ वर्षिय पुरन साउँद रहेका छन् ।
से २ च २५९६ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले बताए । मृत्यु भएका साउद ट्याक्टर सहचालक हुन् । ट्याक्टरका चालक भने फरार रहेका छन् ।
ट्रयाक्टरले ढुङ्गा लोड गरेर लैजाँदै गर्दा सडकबाट अनियन्त्रित भइ जयपृथ्वी नगरपालिका १० खेइरामा दुर्घटना भएको बझाङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक खड्काले बताए । बुधबार दिउँसो २ बजे भएको दुर्घटना लगत्तै चालक फरार रहेका छन् भने सहचालकको घटनास्थलमै ज्यान गएको थियो ।
दुर्घटनामा परेको ट्रयाक्टर चैनपुर-कुचा सडक खण्ड निर्माणमा खटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।