धनगढी: कैलालीका पत्रकारमा कोरोना सङ्क्रमण बढ्दै गएको छ । हालसम्म नेपाल पत्रकार महासङ्घ कैलालीका अध्यक्ष हिमाल जोशीलगायत ११ पत्रकारमा भाइरस सङ्क्रमण देखिएको हो । सङ्क्रमण देखिएका पत्रकारहरूमध्ये प्रायः होम आइसोलेशनमा बसेको पत्रकार महासङ्घ कैलालीका अध्यक्ष जोशीले जानकारी दिए । कोरोना सङ्क्रमणको बेला सचेत रहेर सूचना स्रोता पाठकमाझ पु¥याउनुपर्ने उनले बताए ।
एघार पत्रकारमा सङ्क्रमण देखिएपछि अन्य पत्रकारलाई सचेत भएर समाचार सङ्कलन गर्न तथा सङ्क्रमित पत्रकारको उपचारमा ध्यान दिन सरोकार निकायलाई पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले आग्रह गरे । अध्यक्ष रावलले हरेक अप्ठ्यारो परिस्थितिमा जनतामाझ सत्यतथ्य समाचार पु¥याउनु पत्रकारिताको धर्म भए पनि सुरक्षित भएर धर्म निर्वाह गर्नुपर्ने बताए ।
कोरोनाबाट सङ्क्रमित कैलालीका पत्रकार तेज भट्टले कोरोनालाई लापरबाही ढङ्गले नबुझ्न र सरकारले पालना गर्न सुझाव दिएका सुरक्षाका उपाय अपनाउन आग्रह गरे । यस्तो अवस्थामा सकभर थलामा नगई बहुप्रविधिको प्रयोग गरेर सूचना सङ्कलन गर्नुपर्ने उनको सुझाव छ ।
कैलालीमा सङ्क्रमित पत्रकारहरू बढेकामा पत्रकार सम्बद्ध सङ्गठनले पनि चिन्ता व्यक्त गरेका छन् । प्रेस चौतारी नेपाल कैलालीका संयोजक भानुभक्त आचार्यले अहिलेको विषम परिस्थितिमा नागरिकको स्वास्थ्यमा ध्यान दिनु नै राज्यको अभिभावकमय दायित्व भएको र राज्यले सक्दो प्रयास गरिरहेको भए पनि जनतालाई सुसूचित गर्ने पत्रकारको स्वास्थ्य सुधारका लागि विशेष ध्यान दिनुपर्ने बताए ।
नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले छिटोभन्दा छिटो सङ्क्रमित पत्रकारका उपचारमा ध्यान दिन सरोकार निकायलाई आग्रह गरे ।