कञ्चनपुर: शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अति संकटापन्न दुर्लभ खरमजुरको गणना सुरु गरिएको छ। खरमजुरको अवस्था, संख्या, बासस्थानसँगै आहाराको पर्याप्तताबारे अध्ययन र अनुगमन सुरू गरिएको हो।
निकुञ्जका कर्मचारी र चरा विशेषज्ञसहितको पाँचजनाको टोली खरमजुरको गणनामा खटिएको छ। ‘हेडकाउन्टका आधारमा गणनाको कार्य भैरहेको छ‚’ निकुञ्ज कार्यालयका सहायक संरक्षण अधिकृत रवीन चौधरीले भने, ‘निकुञ्ज क्षेत्रभित्र विभिन्न प्वाइन्ट राखी पोष्टहरूमा गणना भैरहेको छ।’
तीन दिनअघि सुरु गरिएको गणना तथा अनुगमन एक साताभित्रै सम्पन्न हुने चौधरीले बताए। खरमजुरको बास स्थानका रुपमा रहेको घाँसे मैदान र खरका फाँटहरूमा बर्सेनि लाग्ने डढेलोले समस्या निम्त्याउँदै आएको छ। खरमजुरको अधिक संख्या रहेको निकुञ्जका रुपमा यसलाई लिइने गरिन्छ।
पोथी र अर्धवयस्क खरमजुर खैरो र कैलो हुन्छ। खरमजुरको लम्बाई ६६ सेन्टिमिटरसम्म हुन्छ। प्रायः घाँसे मैदानमा पाइने लामा खुट्टा, मजबुत शारीरिक बनावट, लामो घाँटी र टाउकोमा कल्कीजस्तो देखिने खरमयुरका पोथी र बच्चा खैरा हुन्छन्। प्रजनन समयमा वयस्क भाले प्रायः कालो देखिन्छ। पखेटा भने सेतो हुन्छ। यसलाई अंग्रजीमा बेङ्गाल फ्लोरिक्यान भनिन्छ।
संरक्षणका हिसाबले खरमजुर अति संकटापन्न अवस्थामा रहेको छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले यसलाई अति संकटापन्न सूचीमा सूचीकृत गरेको छ। नेपाल सरकारले २०५७ सालमा हुलाक टिकटमा समेत खरमजुरको तस्बिर अंकित गरिएको छ। नेपाल सरकारले यसलाई संरक्षित पन्छीको सूचीमा राखेको छ।
सन् २०१४ मा गरिएको राष्ट्रिय चरा गणनामा यसको संख्या नेपालमा ४१ वटा रहेको पाइएको थियो। जसमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नौवटा फेला परेका थिए। खरमजुरसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सारस, सिम तित्रा र विश्वकै दुर्लभ मानिएको लेसर भुडिफोर चरा समेत पाइन्छ।