बझाङ: नेपाल सरकारले राष्ट्रिय गौरवको योजनामा बझाङको चैनपुर–ताक्लाकोट सडक खण्डलाई पनि पारेको छ । यद्यपि यो योजनाको काम कछुवा गतिमा भइरहेको छ । बझाङको सदरमुकाम चैनपुरबाट एक सय १७ किलोमिटरको दुरीमा रहेको चीनको स्वशासित क्षेत्र तिब्बतलाई जोड्ने सडक खण्डको काम निकै ढिलो गरी भइरहेको हो ।
यस सडकको चैनपुर रुवातोलासम्म १८ किलोमिटर विकेन्द्रीकृत पूर्वाधार तथा जीविकोपार्जन कार्यक्रम ९ड्रिलिप० ले २०६८ सालमै निमार्ण सम्पन्न गरेको थियो । तर अहिलेसम्म त्योभन्दा माथि झण्डै १८ किलोमिटर मात्रै सडक कटान भएको छ । सन् २०१२ मा डीपीआर तथा सर्भे भएर २०६८ सालमा यस सडक खण्डको निर्माण कार्य सुरु भएको थियो । २०७२ सालदेखि नागार्जुन स्वछन्द बानिया निर्माण सेवा र राजेन्द्र निर्माण सेवाले सडक कटानको काम गरिरहेका छन् ।
भोपुरदेखि १८ किलोमिटर रुपातोलाको सिमानासम्म राजेन्द्र निर्माण सेवाले सडक कटानको जिम्मा लिएको छ भने त्योभन्दा माथि नागार्जुन स्वछन्द बानिया निर्माण सेवाले सडक कटानको जिम्मा पाएको छ ।
२०७२ सालदेखि अहिलेसम्म ३६ किलोमिटर मात्रै सामान्य ट्र्याक खोल्ने काम भएको छ । जसमा १८ किलोमिटर २०६८ सालमा नै ड्रिलिपले ट्रयाक खोलेको थियो । अहिले भोपुरदेखि रुवातोलको सिमानासम्म डबल कटिङ गर्ने कामसमेत सुस्त गतिमा भइरहेको छ ।
यो सडक खण्ड निर्माणमा सरकारले नै चासो नदिएकै कारण काम राम्रोसँग सञ्चालन हुन नसकेको माओवादी केन्द्र बझाङका अध्यक्ष मीनबहादुर कुँवरले बताए । यसमा निर्वाचित जनप्रतिनिधिले पनि चासो दिएर सरकारलाई घचघचाउनु पर्ने उहाँको भनाइ छ ।
नेपाली कांग्रेस बझाङका पार्टी सभापति हर्कजङ्ग बहादुर सिंहले सडकको काम ढिलो हुनुमा अहिलेको सरकारकै लापर्बाही भएको आरोप लगाए । निर्माण कम्पनीलाई ताकेता गर्नुपर्ने भए पनि त्यसमा सरकारले चासो नै नदिएको उनले बताए ।
४० किलोमिटर सडकको मात्रै ठेक्का सम्झौता भएकोमा अहिलेसम्म झण्डै ७० करोड रुपैयाँ खर्च भएको चैनपुर–ताक्लाकोट सडक खण्डका सब–इन्जिनियर विष्णुराज खातीले बताए । यस सडक खण्डमा वर्षमा पाँच महिना मात्रै राम्रोसँग काम हुने त्योबाहेक अरू महिना काम गर्न गाह्रो हुने गरेका कारण ढिलाइ भएको स्वीकार गरे ।
तीन महिना हिमपातका कारण काम बन्द हुन्छ, खातीले भने तीन महिना बर्खाको समयमा समस्या हुन्छ । अहिले कडा चट्टान भएका कारण पनि सडक निर्माणमा ढिलाइ भएको उनले बताए ।
चैनपुर–ताक्लाकोट सडक खण्डका कार्यलय प्रमुख बलिराज मल्लले काम सुस्त गतिमा भएको स्वीकार गर्दै निर्माण कम्पनीलाई ताकेता गरिरहेको बताए । अहिले चट्टान फुटाउने प्राविधिकको सङ्ख्या कम हुँदा पनि काममा ढिलाइ भएको उहाँको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले यसतर्फ आफ्नो चासो पुगेको बताउँदै सडक खण्डका प्रमुखसँग बुझ्दा बजेटअनुसारको प्रगति भएको र बजेट नै कम भएका कारण समस्या भएको आफूलाई जानकारी दिएको बताए ।
