धनगढी : खडेरीका कारण बैतडीमा यो वर्ष गहुँबालीको उत्पादनमा कमी हुने भएको छ ।बैतडीमा धेरै जसो जमीनमा लगाइने फसल आकासे पानीको भरमा निर्भर रहेको छ । गहुँ छर्ने समयमा अलि अलि पानी परेको थियो । त्यहि पानीका भरमा कृषकहरुले गहुँ छरेका थिए ।
गहुँ उम्रिन थालेदेखि हालसम्म पानी नपरेपछि उम्रिएका गहुँ पनि सुक्न थालेको छ । गहुँवाली सुकेपछि किसानहरु खाद्यान्न संकट हुने चिन्तामा रहेका छन् । लामो समयदेखि पानी नपर्दा हिउँदेबालीको उत्पादनमा ह्रास आउने अनुमान गरिएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख दिलबहादुर सिंहले बताए। ‘खडेरीका कारण बालीनाली सुकेपछि बाहिरबाट आयात गर्नुपर्ने खाद्यान्न परिमाण वृद्धि हुन्छ’, उनले भने ।
बैतडीमा १७ हजार ५०० हेक्टरमा गहुँ खेती गरिंदै आएको भएपनि ८ हजार हेक्टरमा मात्रै सिंचाईको सुविधा रहेको छ । सिंचाईको सुविधा नभएका ठाउँमा कतिपय किसानहरुले गहुँबाली छर्नै पाएनन् भने छरेका ठाउँमा पनि खडेरीका कारण बालीनाली सुकेको किसानहरुले बताएका छन् ।छरेको बीउ पनि नफर्किएपछि साह्रै दु स् ख लागेको स्थानिय किसान राम सिह मंगोलाले बताए ।
‘यसरी पानी नपर्ने हो भन्ने लागेमा त्यो बीउ पनि खेर फाल्ने थिएनौ’, उनले भने । मंगोला जस्तै पीडा यतिखेर जिल्लाका धेरै किसानको छ । स्थानिय सरकारले यो वर्ष खाद्यान खरीदमा राहत दिनु पर्ने उनीहरुको माग छ ।
हिउँदमा बर्षा नहुँदा सिंचाई सुविधा नभएका जिल्लाका विभिन्न ठाउँमा गहुँबाली सुकिसकेका छन् । खडेरीका कारण उत्पादनमा २५ देखि ३० प्रतिशत कमी आउने आँकलन गरिएको कृषि ज्ञान केन्द्र बैतडीले बताएको छ ।बैतडी मात्र नभएर सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लामा खडेरीले यस्तै समस्या पारेको छ ।