धनगढी, २५ असार / ‘मेरो सरकार बनेपछि आजसम्मका सरकारले ल्याउन नसकेको उत्कृष्ट बजेट ल्याएर काम गर्छु।’ मुख्यमन्त्री बन्नुअघि खगराज भट्टले देखाएको आत्मविश्वास र सुनाएको प्रतिबद्धता यही थियो। तर, मुख्यमन्त्रीको कुर्सीमा बसेपछि भने उनको त्यो जोस न बजेटमा देखियो, न काममा। उत्कृष्ट बजेटको कुरा त परै जाओस्, सुदूरपश्चिम प्रदेशले समयमै बजेटसमेत पाउन सकेन। भाषणमा उत्कृष्टताको दाबी गर्ने मुख्यमन्त्री व्यवहारमा भने बजेटलाई निकास दिनै नसक्ने अवस्थामा पुगेका छन्।
मुख्यमन्त्री भट्टको असफलताको कथा शपथ ग्रहणकै दिनदेखि सुरु भएको देखिन्छ। उनले मुख्यमन्त्रीको शपथ लिएकै दिन एमालेका मन्त्री र राज्यमन्त्रीले पनि शपथ लिए। तर आफ्नै पार्टीबाट मन्त्री चयन गर्नसमेत उनलाई सहज भएन। सरकार गठनको सुरुवातमै देखिएको यो अन्योलले उनको नेतृत्व क्षमतामाथि प्रश्न उठाउने ठाउँ बनायो।
केही समयपछि बल्ल मन्त्री चयन गरेका भट्टले त्यसपछि बजेट तयारीमा जुटेको बताउन थाले। सार्वजनिक मञ्चहरूमा उनले छिट्टै बजेट आउने आश्वासन पटकपटक बाँडे। कहिले भदौभित्रै बजेट ल्याउने बताए, कहिले असोज १ गते बजेट सार्वजनिक गर्ने प्रतिबद्धता जनाए। तर उनको ‘छिट्टै’ भने क्यालेन्डरका पाना फेरिँदै जाँदा पनि पूरा हुन सकेन।
साउन २९ गते मुख्यमन्त्रीको शपथ लिएका भट्टले असोज २५ गतेसम्म आइपुग्दा पनि बजेटलाई निकास दिन सकेका छैनन्। असोज १५ गते, त्यसपछि २१ गतेसम्म बजेट आउने चर्चा चल्यो। बीचमा कानुनी झमेलाको कुरा आयो। २४ गते बिहान बजेट आउने भनियो, बिहान बित्यो, दिउँसो बित्यो, साँझ पनि बित्यो, तर बजेट आएन। अब २५ गते बजेट ल्याउने तयारी भइरहेको बताइन्छ। आज पनि बजेट आउँछ कि फेरि अर्को मिति सुनाइन्छ, त्यो भने हेर्न बाँकी नै छ।
मुख्यमन्त्री भट्टका लागि बजेट ल्याउनु अब केवल आर्थिक वर्षको आवश्यकता पूरा गर्ने विषय मात्र रहेन, आफ्नै प्रतिबद्धताको परीक्षा पनि बनेको छ। किनकि उनले सरकार बन्नुअघि गरेको दाबी सामान्य थिएन। विगतका सरकारले ल्याउन नसकेको उत्कृष्ट बजेट ल्याउने घोषणा गरेका थिए। तर अहिलेको अवस्था हेर्दा उत्कृष्ट बजेटको बहस गर्नुअघि बजेट सार्वजनिक गर्न सक्ने क्षमता नै प्रमाणित गर्नुपर्ने देखिएको छ।
बजेट ढिलाइको कारण कानुनी जटिलता हुन सक्छ, सरकारभित्रका समस्या पनि हुन सक्छन्। तर सरकारको नेतृत्व गर्ने व्यक्तिको जिम्मेवारी भने समस्याको सूची सुनाउनु मात्र होइन, समाधान खोजेर निकास दिनु पनि हो। पटकपटक मिति तोक्दै जाने तर प्रतिबद्धता पूरा गर्न नसक्ने हो भने जनताले सरकारको कार्यक्षमतामाथि प्रश्न उठाउनु स्वाभाविक हुन्छ।
मुख्यमन्त्री बन्नुअघि देखिएको जोस, जाँगर र आत्मविश्वास मुख्यमन्त्री भएपछि किन कमजोर भयो? उत्कृष्ट बजेट ल्याउने दाबी गर्ने नेतृत्वले बजेटकै विषयमा पटकपटक मिति किन सार्नुपर्यो? यी प्रश्नको जवाफ मन्त्री स्वयंसँग छैनन।
मुख्यमन्त्री भट्टले सुनाएको प्रतिबद्धता र सरकारको वास्तविक कामबीचको दूरी भने दिनप्रतिदिन बढ्दै गएको देखिन्छ। सरकार गठनअघि उत्कृष्ट बजेटको सपना बाँड्ने मुख्यमन्त्री अहिले बजेट कहिले आउँछ भन्ने प्रश्नको जवाफ दिनुपर्ने अवस्थामा छन्।
निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहको सरकारले ल्याएको बजेटलाई असफल बनाउन लागिपरेका हालका मुख्यमन्त्री भट्ट आज आफ्नै नेतृत्वको सरकारलाई समेत असफलताको बाटोमा यात्रा गराइरहेका छन् ।