टेकसिँह धामी/ धनगढी : सुदूरपश्चिममा भ्रुण हत्या गर्ने बढ्दा छोरी जन्मदर घटेको छ। सुदूरमा आजकल छोरा वा छोरी भएको पहिल्यै पहिचान गरी शिशु जन्माउनेहरू बढेका छन्। छोरी भए गर्भमै हत्या गर्नाले सुदूरपश्चिममा सरदर जन्मने नवजात शिशुमा छोरीभन्दा छोराको जन्मदर बढेको पाइएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयसँग विगत चार वर्षयता प्रदेशभित्र बालिकाभन्दा बालकको जन्मदर बढ्दै गएको तथ्यांक छ। स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४र७५ मा जन्मेका कुल नवजात शिशुमध्ये ४७ दशमलव ६ प्रतिशत बालिकाको जन्म भएको थियो भने ५२ दशमलव ४ प्रतिशत बालक जन्मेका थिए।
यस्तै आव २०७५र७६ मा बालकको अनुपातमा अघिल्लो वर्षको तुलनामा १ दशमलव ५ प्रतिशतले बढेर ५३ दशमलव ९ प्रतिशत पुग्यो भने बालिकाको अनुपात १ दशमलव ५ प्रतिशतले घटेर ४६ दशमलव १ प्रतिशतमा झर्यो।
आव २०७६र७७ मा अघिल्लो वर्षको तुलनामा शून्य दशमलव २ प्रतिशतले बढेर ५४ दशमलव १ प्रतिशतमा उक्लेको देखिन्छ भने बालिकाको जन्मदरको अनुपात शून्य दशमलव २ प्रतिशतले घटेर ४५ दशमलव ९ प्रतिशतमा झरेको छ।
चालू आवको पुस मसान्तसम्म अघिल्लो वर्षको तुलनामा शून्य दशमलव ९ प्रतिशतले बढेर ५५ प्रतिशतमा बालकको जन्मदर बढेको देखिन्छ भने बालिकाको जन्मदर अनुपात शून्य दशमलव ९ प्रतिशतले घटेर ४५ प्रतिशतमा झरेको छ। यो अनुपात हेर्दा विगत चार वर्षयता बालकको जन्मदर बढ्दै गएको देखिन्छ भने बालिकाको जन्मदर घट्दै गएको पुष्टि हुन्छ।
प्रदेशमा आव २०७४र७५ मा २३ हजार ४ जना बालकको जन्म भयो भने २० हजार ८६० बालिका जन्मेका थिए। त्यस्तै आर्थिक वर्ष २०७५र७६ मा ४५ हजार १९० जन्मेका बालबालिका मध्ये २४ हजार ३६९ बालक र २० हजार ८२१ बालिका रहेका थिए।
४५ हजार २२२ नवजात शिशुको जन्म भएको आर्थिक वर्ष २०७६र७७ मा २४ हजार ४७२ बालक र २० हजार ७५० बालिका रहेका थिए। चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा २७ हजार ७१३ नवजात शिशुमध्ये १५ हजार २३४ बालक र १२ हजार ४७९ बालिकाको जन्म भएको छ। जुन तथ्यांक हेर्दा बालक भन्दा बालिकाको जन्मदर घट्दो क्रममा रहेको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकले पछिल्ला वर्षहरुमा बालकको जन्मदर बढ्दो क्रममा छ।
प्रदेशमा बालिकाको जन्मदर घट्दो क्रममा रहेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए। उनले भने, ‘बालकको जन्मदर बढ्दै जानु र बालिकाको जन्मदर घट्दो क्रममा हुँदा लैंगिक समानतामा उतारचढाव हुन्छ, जसले गर्दा यौनिक हिंसामा बढोत्तरी हुन्छ।’
पुरुषको तुलनामा महिलाको संख्या घट्दै जाने हो भने वैवाहिक समस्या निम्तने खतरा पनि उत्तिकै रहेको बताउँदै उनले भने, ‘जसले गर्दा वैवाहिक सम्बन्धका लागि महिलाको कमी हुने र जनसंख्या घट्दो तथा स्थिर रहने सम्भावना हुन्छ।’
अस्पतालमा पनि पहिलो बच्चा छोरा जन्मेका दम्पती दोस्रो सन्तान जे भए पनि ९छोरा या छोरी० चाहने गरेको बताउँदै सेती प्रादेशिक अस्पताल धनगढीकी प्रसूति वार्ड इन्चार्ज यशोदा ढकालले भनिन्, ‘यदि पहिलो सन्तान छोरी भएको खण्डमा दोस्रो सन्तान छोरा नै जन्माउन अवैधानिक तरिकाले भ्रुण हत्यासम्म गर्ने गरेका छन्।’
भ्रुण पहिचान गर्न नपाइने कानुनी प्रावधान भए पनि दम्पतीहरुले लुकीछिपी भ्रुण पहिचान गरेर छोरी देखिएमा हत्या गर्ने गरेका कारण पनि जन्मने नवजात शिशुमा छोरीको संख्या घट्दै गएको देखिएको उनी बताउँछिन्।
अवैधानिकता रहेको भू्रण पहिचान विधिलाई सरकारले कानुनी दायरामा ल्याएर भ्रुण पहिचान गरी हत्या गर्नेलाई कारबाही गर्न सकेमा बालक र बालिकाको जन्मदरमा समानता आउने उनी बताउँछिन्। छोरा र छोरीलाई समान व्यवहारले हेर्ने र यसलाई पितृसत्तात्मक सोच परिवर्तन गरी जनचेतना फैलाउनुपर्ने उनले बताइन्।