धनगढी, टेकसिँह धामी/कन्चनपुरको भीमदत्त नगरपालिका–९ चुरे क्षेत्रमा रहेको ‘झिलमिला ताल’ पर्यटक आकर्षणको केन्द्र हो । ‘झिलमिला ताल’लाई पर्यटकिय गन्तव्यका रुपमा थप बिकास गर्न प्रदेश सरकारले ताल क्षेत्रमा सौर्य बत्ति जडान गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले बत्ति जोडेपछि झिलमिला झल्मल्ल बनेको हो ।
धार्मिक तथा पर्यटकीय क्षेत्र झिलमिलामा सौर्य बत्ती जडान गरेपछि तालको सुन्दरता थप बढेको छ । गर्मी समयमा बिदा मनाउन आन्तरिक पर्यटकहरु यस क्षेत्रमा पुगेर प्रकृतिको आनन्द लिने गरेका छन्।
लामो समयदेखि सरकारको नजरमा नपरेको झिलमिलामा सुदूुरपश्चिम प्रदेशका पूुर्व उद्योग वन वातावरण तथा पर्यटन मन्त्रि प्रकाश रावलको पहलमा भौतिक पुर्वाधार विकास कार्यालयले सौर्य बत्ती जडान गरे पछि स्थानियमा खुसी छाएको छ । स्थानीय लाल वहादुर थापाले यस क्षेत्रको भविश्य उज्यालो हुने विश्वास व्यक्त गर्दै सडकको उन्नती र पर्यटकहरुको लागी धर्मशालाको निर्माण भए अझै सहज हुने बताए।
मन्त्रालयले सुदूरपश्चिम प्रदेशको समग्र विकासमा महत्वपुर्ण भुमिका खेलेको भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव गणेश राज भट्टले बताए । उनले पर्यटकीय र सांस्कृतिक सम्पदाहरुको विकास र जगेर्ना गर्दै मुल प्रवाहमा ल्याउनुपर्ने समेत बताए ।
बत्ती जडानपछि ताल क्षेत्रमा आउने धार्मीक पर्यटकहरुलाई तालको सुन्दर दृश्यावलोकनको लागि सहज हुने अपेक्षा गरिएको छ । बत्ती जडानमा २७ लाख १८ हजार रुपैया खर्च भएको मन्त्रालयले जनाएको छ ।
उक्त ताल जिल्ला सदरमुकाम भीमदत्तनगरबाट २५ किलोमिटर उत्तरी क्षेत्रमा अवस्थित छ । समुद्र सतहदेखि करिब ६८० मिटर उचाइमा रहेको तालको चारैतिरका डाँडा हरियो वनले ढाकिएका छन् । यस तालले दिनमा तीन पटक रंग फेर्ने बताइन्छ ।
यो ताल प्राकृतिक, धार्मिक र ऐतिहासिक हिसाबले निकै महत्वपूर्ण भएकाले तालमा छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी आउने गर्दछन्।
