धनगढी, फाल्गुन १७/ बाजुरा स्वास्थ्य सुविधाको दृष्टिकोणले पछाडि परेको जिल्ला हो । यहाँ सामान्य उपचारका लागि पनि बाह्य जिल्ला जानुपर्ने बाध्यता छ । स्वास्थ्य चौकीहरूमा चिकित्सक बस्न मान्दैनन् । समयमा नै उपचार नपाएर धेरैको अकालमा नै ज्यान जान्छ ।
बाजुरा बुढीगंगा नगरपालिकास्थित टाँटे स्वास्थ्य चौकीले ५७ वर्षपछि चिकित्सक पाएको छ । २०२० सालमा स्थापना भएको टाँटे स्वास्थ्य चौकीमा ५७ वर्षपछि नगरपालिकाको पहलमा एक जना चिकित्सकले सेवा दिन थालेका हुन् ।
नगरपालिकाले करारमा एमबिबिएस चिकित्सकको आवश्यकता मागेपछि काठमाडौंबाट डाक्टर रवि लामिछाने बाजुराको दुर्गम क्षेत्र टाँटे पुगेका हुन् । सो स्वास्थ्य चौकीमा डाक्टर लामिछाने आएसँगै नियमित स्वास्थ्य सेवा सुचारु हुँदै आइरहेको छ । नमुना स्वास्थ्य चौकी भए पनि यसअघि भने सिनियर अहेव दीपक शाहले बिरामीलाई सेवा दिँदै आइरहेका थिए । फागुन १६ बाट चिकित्सकद्वारा बिरामी जाँच, परामर्श सेवा र औषधी वितरण सुरु गरिएको हो ।
२०२० सालमा स्थापना भएको टाँटे स्वास्थ्य चौकीले प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा सेवा सञ्चालन गर्दै आइरहेको थियो । टाँटे स्वास्थ्य चौकीमा आकस्मिक रक्तसञ्चार, भिडियो एक्सरे, इमर्जेन्सी, एम्बुलेन्स, ल्याब, खोप सप्लायर्स, कुपोषित बालबालिका लागि ओटी सेवाका साथै बिरामी भर्ना गरेर उपचार गर्ने सुविधा रहेको इन्चार्ज सिनियर अहेव दीपक शाहले बताए ।
उनले एचआईमी परीक्षणभन्दा अघि दिइने काउन्सिलिङका लागि भिसिटी केन्द्र, प्रसूति केन्द्र, दाँतको उपचार र आँखासम्बन्धी ओसिटी सेवा पनि सञ्चालन गर्दै आइरहेको बताए ।
स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टरले सेवा दिन थालेपछि जिल्लाको तल्लो भेगमा पर्ने बुढीगंगा, त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिका लगायतका क्षेत्रबाट बिरामीले सेवा लिनका लागि टाँटे पुग्ने गरेका छन्, उनले भने, ‘क्षयरोगका बिरामी छिमेकी जिल्ला बझाङ र अछाम जिल्लाबाट आएको रेकर्ड छ ।’ स्वास्थ्य चौकीमा दैनिक ५० देखि ६० जना बिरामी आउने गरेका छन् ।
उनले देशका अन्य स्वास्थ्य चौकीमा नभएको आकस्मिक रक्तसञ्चार सेवा टाँटे स्वास्थ्य चौकीमा रहेको बताए । जिल्लाकै राम्रो गतिविधि टाँटे स्वास्थ्य चौकीमै हुने गरेको शाह बताउँछन् । उनले डाक्टरकै सेवा स्वास्थ्य चौकीबाट पाएपछि स्थानीय पनि खुसी भएको बताए । स्वास्थ्य चौकीको सरसफाई व्यवस्थापनमा पनि त्यतिकै राम्रो रहेको छ । अहिले स्वास्थ्य चौकीले २४ घण्टा सेवा दिइरहेको छ । बाजुरामा पहिलो पूर्ण संस्थागत सुत्केरी वडाहरूको घोषणा पनि टाँटे स्वास्थ्य चौकीले नै गरेको हो ।
जस अन्तर्गत बुढीगंगा नगरपालिका वडा नम्बर ४, ५, ६ र झाली गाउँ रहेका छन् । स्वास्थ्य चौकीमा कोभिड–१९ का बिरामीको उपचारमा लागि आइसोलेसनको व्यवस्था गरिएको छ । जनस्वास्थ्य कार्यालय बाजुराका अनुसार टाँटे स्वास्थ्य चौकीले दिएको सेवा हिमाली र पहाडी जिल्लाकै उत्कृष्ट हो । स्वास्थ्य चौकीले दिने सेवा सुविधाभन्दा पनि अन्य सेवा दिँदै पहाडि जिल्लाको हकमा नमुना स्वास्थ्य चौकीका रूपमा रहेको संस्थामा चिकित्सकबाट सेवा सुचारु भएको छ ।