टेक सिँह धामी, धनगढी,माघ १८ / बैतडीको सिगास गाउँपालिकामा खानेपानी निर्माणाधीन आयोजनाको काम बन्द भएको छ। सिगासको वडानं ३ मा मैतोडखोला चमडेखर्क देखि मैनोला हुदै हल्कासैनी सम्म निर्माण हुन लागेको खानेपानी योजनाको निर्माण कार्य रोकिएको हो।
खानेपानी योजनाका उपभोक्ता समितिका अध्यक्ष पठान सिंह बोहराले मनोमानी गर्दै दादागिरी शैलीमा स्टिमेट बिपरित काम गरेको सिगास ३ का वडा अध्यक्ष शेर सिंह साउदले बताए।
उनले भने, ‘बोहोराले गुणस्तरहिन काम गरेका छन्। एउटै पाइपलाइनबाट भ्याउने क्षेत्रमा २/२ पाइपलाइन निर्माण गर्ने अडान राखेर जनइच्छा बिपरित काम गर्न खोज्दा आफुहरुले बिरोध गरेको र बिरोध गरेको भन्दै कामै ठप्प हुने गरि पानीको मुहान थुनेका छन्।’
समुदायमा पानीको हाहाकार अवस्था छ। विगतका योजनामा आर्थिक अनियमिता गरेको र निर्माणाधीन योजनाको पाइप घरमा लगेर थन्काएको अध्यक्ष साउदले बताए।
वडा अध्यक्ष साउदले बिज्ञप्ती जारी गर्दै प्राबिधिक स्टमेट भन्दा बाहीर गएर योजनामा अनियमितता र राज्यकोषको दुरुपयोग भएको भन्दै ध्यानाकर्षण समेत गराएका छन् ।

उता उपभोक्ता समितिका अध्यक्ष पठान सिंह बोहराले भने वडा अध्यक्षले काममा अवरोध गरेको आरोप लगाएका छन्। उनले सुदुरपत्रसंग भने, दुइवटा पाइपलाइनबाट खानेपानी बिस्तार गर्न लाग्दा एउटै लाइनबाट बिस्तार गर्नुपर्ने वडा अध्यक्षको अडानले निर्माण कार्य अवरुद्ध भएको हो।
आपसी झैझगडालाइ लिएर नागरिकलाइ खानेपानी पिउनबाट बन्चित गर्दै उपभोक्ता समितिका अध्यक्षले नै निर्माण कार्य रोकेको स्थानीय दान सिंह धामीेले बताए।
यस बिषयमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीलाइ बुझ्दा वडा अध्यक्ष र उपभोक्ता समितिका अध्यक्ष बिचको बिबाद समाधान नभएसम्मका लागि निर्माण कार्य रोकिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका कार्यालय प्रमुख कृष्ण बहादुर बोगटीले बताए
