काठमाडौं । अब एउटा बैंकले जारी गरेको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७७ जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
केन्द्रीय बैंकले जारी गरेको एकीकृत निर्देशनको पहिलो खण्डमा विद्युतीय भुक्तानी कार्ड सञ्चालन सम्बन्धी व्यवस्था गरिएको छ । जसको निर्देशन नम्बर १ को ९ङ० मा ‘एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेको एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन पाइने छैन,’ भनिएको छ ।
राष्ट्र बैंकले कायम गरेको नयाँ नीतिगत तथा प्रक्रियागत व्यवस्था अनुसार अब क वर्गका बैंकले मात्रै क्रेडिट कार्ड, डेबिट कार्ड, प्रिपेड कार्ड लगायतका सबै प्रकारका विद्युतीय भुक्तानी कार्ड जारी गर्न पाउनेछन् । ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले क्रेडिट कार्ड बाहेकका विद्युतीय भुक्तानी कार्ड जारी गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यस्तै बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानी सेवाप्रदायक ९डिजिटल वालेट तथा भुक्तानी प्रणाली सञ्चालक० ले स्वदेशी मुद्रामा मात्र प्रिपेड कार्ड जारी गर्न सक्नेछन् । यसैगरी विद्युतीय भुक्तानी कार्ड जारी गर्दा लाग्ने शुल्क, कार्डमार्फत कारोबार सञ्चालन गर्दा लाग्ने सेवा शुल्क, ब्याज तथा हर्जाना सम्बन्धी व्यवस्थाहरु ग्राहकसँगको सम्झौतामा स्पष्टरुपमा उल्लेख गर्नुपर्ने व्यवस्था समेत एकीकृत निर्देशनमा समेटिएको छ ।
त्यस्तो कार्डको अवधि समाप्त नहुञ्जेल नवीकरण शुल्क लिन नपाइने र कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगावै सोको सूचना एसएमएस मार्फत प्रयोगकर्तालाई दिनुपर्नेछ ।
एसएमएस अलर्ट अनिवार्य बैंक तथा वित्तीय संस्थाले विद्युतीय भुक्तानी कार्डमार्फत कारोबार सम्पन्न भएपछि अनिवार्य रुपमा सम्बन्धित ग्राहकलाई तत्काल सतर्कताको रुपमा एसएमएस अलर्ट दिनुपर्ने व्यवस्था गरिएको छ ।
साथै ग्राहकले ईमेलमार्फत सतर्कता सन्देश माग गरेको खण्डमा सोको व्यवस्था समेत गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । यसैगरी विद्युतीय कार्ड सेवा प्रयोग गरिरहेका ग्राहकले आफ्नो सम्पर्क नम्बर तथा ईमेल आईडी उपलब्ध नगराएको भए २०७७ पुस मसान्तसम्म सम्बन्धित बैंकले त्यसको समेत अनिवार्य रुपमा अध्यावधिक गर्नुपर्नेछ ।