धनगढी, ९ साउन/ सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेका रानाथारु समुदायमा तीजको रौनक छाएको छ । हरितालिका तीज भन्दा ठीक एक महिना दिन अघि श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने गर्छन् । अहिले राना थारु बस्तीमा डोला पिङ हालेका छन् । परम्परागत पोशाकमा सजिएका रानाथारू समुदायका महिला पिङ खेल्दै श्रावणको परम्परागत गीत गुनगुनाउन सुरु गरेका छन् ।
विवाहित छोरीचेली माइती फर्किएका छन् । नेपाली समाज भाषा संकृतिले सम्पन्न छ । धनगढी–६ मटियारीकी सुनिता रानाले राना थारु समुदायमा तीज अन्य समुदायको तुलनामा निकै फरक गरी मनाइने गरेको बताइन् । ‘एक महिनासम्म तीज मनाउने यो समुदायमा आँगनमा पिङ गाडेको दिनबाट तीज सुरु हुन्छ, उनले भनिन्–त्यसरी हालिएको पिङलाई डोला भनिन्छ, पिङ हाल्न महिला दिदीबहिनीलाई दाजुभाइले पनि साथ दिन्छन् ।’
नेपालमा कैलाली र कञ्चनपुरमा मात्रै रानाथारु समुदायको बसोबास छ । अनुसार राना थारुको जनसंख्या साढे ३ लाखभन्दा बढी छ । अन्य समुदायजस्तै रहनसहन, परम्परा, रीतिरिवाज तथा खानपिन र कला संस्कृतिमा धनी रहेको धनगढी–८ की रामदुलारी रानाले बताइन् ।
हिन्दु धर्मावलम्बीहरूले श्रीमानको दीर्घायु तथा कुमारी केटीले महादेव जस्तै वर पाउँ भनी तीजको ब्रत बस्ने धार्मिक मान्यता छ । उनले भनिन्–‘ हामहिरु राम्रो बरका लागि र श्रीमानको दीर्घायुका लागि नभएर दाजुभाइको आरोग्यता र दीर्घायुका लागि तीज मनाउने गर्छौ ।
तीजका दिन महिलाहरु पानी समेत नखाई ब्रत बस्छन् । बिहानै घर लिपपोतपछि नुहाएर साँझका लागि विभिन्न किसिमका परिकारहरु बनाउने काममा जुट्छन् । साँझ साउनको डोला पिङ खेलेर नदी वा खोला किनारमा गई पूजा गरिन्छ । नदी किनारमा उरैला कुशजस्तै एक प्रकारको घाँस मा गाँठो पारिन्छ । विवाहित महिलाले ७ र अविवाहितले ५ वटा गाँठो पार्ने चलन छ । यसलाई रानाथारु भाषामा झुड्की भनिन्छ । उक्त झुड्की चाँदीको औँठीले काटेर खोला वा नदीमै बगाइन्छ ।
दिनभरि बनाइएका परिकारहरु साँझपख पूजापछि ब्रत बसेका छोरी बहिनीदेखि आफन्तहरु सबै एकै ठाउँ बसेर खान्छन् । यो दिन पुरी, गुलगुला, कतरा, पपरा, सिमही लगायतका परम्परागत खानेकुराहरु पकाइन्छन् । पहिले हप्ता दस दिनसम्म तीज मनाइन्थ्यो, तीजकै दिन आउन नसक्ने चेलीबेटीहरु अरु दिन पनि आउने गर्ने तर आजभोली अहिले त्यो चलन हटेर एक दिनमात्रै तीज मनाइन्छ धनगढी उपमहानगरपालिका उपमेयर सुशिला मिश्र भट्टले बताइन् ।
