धनगढी, २४ असोज / महिलामा रहेको ज्ञान, सीप र कलालाई उद्यमसँग जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले कैलालीको धनगढीमा शनिवारीय महिला उद्यम मेला पुनः सुरु भएको छ। वर्षा र हावाहुरीका कारण केही समय रोकिएको मेला माग बढेसँगै असोज २४ गतेदेखि पुनः सञ्चालनमा आएको हो। घरायसी काममा सीमित महिलालाई बजारसँग जोड्दै आफ्ना उत्पादन बिक्री गर्ने र आम्दानी बढाउने अवसर प्रदान गर्ने उद्देश्यले २०८१ सालदेखि मेला सञ्चालन हुँदै आएको छ।
एक कार्यक्रमका बीच धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला कुमारी रानाको उपस्थितिमा वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले मेलाको उद्घाटन गरेका हुन्। शनिबार धेरैका लागि बिदा र फुर्सदको दिन हो। तर, धनगढीका केही महिलाका लागि भने यही दिन आफ्नो सीपलाई आम्दानीमा बदल्ने अवसर बनेको छ। धनगढी उपमहानगरपालिका–१ स्थित जेनजी मार्गमा लाग्ने शनिवारीय महिला उद्यम मेलामा कोही रैथाने खानाका परिकार बनाउन व्यस्त छन् भने कोही घरमै उत्पादन गरेका अचार, गेडागुडी तथा अन्य खाद्य सामग्री बिक्री गरिरहेका छन्।
महिलामा रहेको ज्ञान, सीप र कलालाई उद्यमशीलतासँग जोड्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाले मेला व्यवस्थापन गर्दै आएको छ। मेलामा करिब ७० वटा स्टल राखिएका छन्। प्रत्येक शनिबार साँझ सञ्चालन हुने मेलाले घरमै उत्पादन गरिएका वस्तु बजारसम्म पुर्याउन र उपभोक्तासँग प्रत्यक्ष जोडिन महिला उद्यमीलाई अवसर दिएको छ। वर्षा र हावाहुरीका कारण केही समय बन्द भएको मेला पुनः सञ्चालनमा आएको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताए।
बिदाको दिन पारेर प्रत्येक शनिबार सयौँ मानिस मेला अवलोकन गर्न पुग्छन्। व्यापारिक गतिविधिसँगै मेलामा बालबालिकाका लागि खेल सामग्री र सांस्कृतिक कार्यक्रमसमेत राखिएका छन्। नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीले सांस्कृतिक प्रस्तुतिमार्फत आफ्नो प्रतिभा देखाउने अवसर पाउँछन्। यसले मेलालाई व्यापारसँगै मनोरञ्जन र प्रतिभा प्रदर्शनको साझा थलोका रूपमा विकास गरेको छ। मेलामा स्टल राखेर विभिन्न परिकार बिक्री गर्दै आएकी पद्मादेवी बम गत वर्षदेखि नै मेलामा सहभागी हुँदै आएकी छन्। मेलाले आफ्ना उत्पादन ग्राहकसम्म पुर्याउन र व्यापार विस्तार गर्न सहयोग गरेको उनको अनुभव छ।
मेलाले महिला उद्यमीका उत्पादनको प्रचारप्रसार मात्रै गरेको छैन, उनीहरूको आम्दानी बढाउन पनि सहयोग गरेको छ। सहभागी महिला उद्यमीका अनुसार मेलामा व्यापार गरेर प्रत्येक शनिबार तीन हजारदेखि छ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ। घरमै बनाउँदै आएका खानेकुरा र अचारलाई व्यावसायिक रूपमा उत्पादन तथा बिक्री गर्ने सोच मेलामा सहभागी भएपछि थप बलियो बनेको अनिता श्रेष्ठ बताउँछिन्।
धनगढीको शनिवारीय महिला उद्यम मेला महिलाका लागि उत्पादन बिक्री गर्ने बजार मात्रै बनेको छैन, आत्मनिर्भर बन्ने सम्भावनाको ढोकासमेत बनेको छ। घरभित्र सीमित सीपलाई व्यवसायमा रूपान्तरण गर्ने, उत्पादनको बजार विस्तार गर्ने र नियमित आम्दानीको स्रोत बनाउने अवसर मेलाले दिएको छ। यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै उत्पादनको गुणस्तर सुधार, बजार पहुँच विस्तार र व्यावसायिक सीप विकासमा समेत सहयोग गर्न सके महिला उद्यमशीलता प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक योगदान पुग्न सक्छ।