कैलाली, २४ असोज / सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले उच्च शिक्षा अध्ययनरत विद्यार्थीले विदेश मोह त्यागेर स्वदेशमै अवसर खोज्नुपर्ने बताएका छन् ।
कैलालीको घोडाघोडी नगरपालिकास्थित घोडाघोडी बहुमुखी क्याम्पसमा मधेसी आयोगले आयोजना गरेको लोकसेवा परीक्षा तयारीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रदेश प्रमुख मियाँले स्वदेशमै बसेर पनि राम्रो अवसर प्राप्त गर्न सकिने बताएका हुन् ।
पछिल्लो समय युवा विद्यार्थीमा विदेश जाने मोह बढ्दै गएको उल्लेख गर्दै उनले दक्ष जनशक्ति पलायन हुनु मुलुकका लागि दुर्भाग्यपूर्ण भएको बताए।
विद्यार्थीलाई आफ्नो क्षमता पहिचान गरी अध्ययन, ज्ञान र सीप विकासमा ध्यान दिन आग्रह गर्दै उनले निरन्तर मेहनत र आत्मविश्वासका साथ प्रतिस्पर्धामा उत्रिनुपर्नेमा जोड दिए ।
मधेसी समुदायको सशक्तीकरणका लागि स्थापना भएको मधेसी आयोगले मधेसमा मात्र नभई सुदूरपश्चिमलगायत अन्य क्षेत्रका विद्यार्थीलाई समेत समेटेर कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा लोकसेवा आयोगको परिचय, परीक्षाको तयारी गर्ने तरिका, सरकारी सेवामा प्रवेशका अवसर तथा सामाजिक सुरक्षा लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
घोडाघोडी नगरपालिकाका शिक्षा अधिकृत उमेशराज रेग्मीले लोकसेवा आयोगको परिचय, परीक्षाको तयारी गर्ने तरिका र सरकारी सेवामा प्रवेश गर्नुको महत्त्वबारे प्रशिक्षण दिएका थिए ।
त्यस्तै, इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले लागूऔषध दुर्व्यसन, सडक दुर्घटना तथा लोकसेवा तयारीसँग सम्बन्धित विषयमा जानकारि दिए ।
आयोगका सदस्य शाहले लोकसेवा परीक्षासम्बन्धी जानकारी र तयारीका अवसर सबै क्षेत्रका विद्यार्थीले पाउनुपर्ने बताए । यस्ता कार्यक्रमले विद्यार्थीमा लोकसेवाप्रतिको जागरुकता बढाउनुका साथै सरकारी सेवामा प्रवेश गर्ने लक्ष्य बनाउन सहयोग पुग्ने उहनको भनाइ थियो ।
नगरप्रमुख रावतले घोडाघोडीमा कार्यक्रम आयोजना गरेकोमा मधेसी आयोगलाई धन्यवाद दिँदै यस्ता अभिमुखीकरणले विद्यार्थीलाई लोकसेवा तयारीबारे जानकारी दिनुका साथै लक्ष्य प्राप्तिका लागि प्रेरणा प्रदान गर्ने बताए । उनले योजनाबद्ध अध्ययन र निरन्तर अभ्यासमा जोड दिनुपर्ने बताएका थिए ।