बैतडी, २३ असोज / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर सञ्चालन गरिरहेको ‘हामी आउँदैछौँ, हामी सुन्छौँ’ अभियान बैतडीमा पनि जारी रहेको छ। अभियानअन्तर्गत जिल्लाका पाँच स्थानीय तहमा कार्यक्रम सम्पन्न भइसकेका छन् भने बाँकी पाँच स्थानीय तहमा कार्यक्रम हुन बाँकी रहेको रास्वपाका प्रदेश सार्वजनिक मामिला विभागका पूर्व उपप्रमुख तथा युवा नेता विशाल भट्टले बताए ।
भट्टका अनुसार हालसम्म सिगास गाउँपालिका, पुर्चौंडी नगरपालिका, सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका र डिलासैनी गाउँपालिकामा आम नागरिक, पार्टीका पदाधिकारी, शुभचिन्तक तथा शुभेच्छुकसँग प्रत्यक्ष भेटघाट तथा संवाद सम्पन्न भएको छ।
अभियानका क्रममा स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका आवाज, समस्या, गुनासा, सुझाव र अपेक्षा सुन्ने काम भइरहेको भट्टले बताए। नागरिकले शिक्षा, स्वास्थ्य, रोजगारी, विकास निर्माण, सार्वजनिक सेवा लगायत स्थानीयस्तरमा भोगिरहेका विभिन्न समस्याबारे आफ्ना धारणा तथा सुझाव राखिरहेको उनको भनाइ छ।
स्थानीयस्तरबाट प्राप्त समस्या तथा सुझावलाई सम्बन्धित निकायसम्म पुर्याउने तथा आवश्यक पहल गर्ने उद्देश्य अभियानको रहेको भट्टले बताउनुभयो। नागरिकबाट प्राप्त सुझावलाई पार्टीको नीति निर्माण, संगठन सुदृढीकरण तथा आगामी कार्यदिशामा समेत उपयोग गरिने उनले बताए।
‘हामी आउँदैछौँ, हामी सुन्छौँ’ अभियान बैतडीमा मात्रै नभई देशभर सञ्चालन भइरहेको भट्टले बताए। निर्वाचनका समयमा मात्रै नागरिकको घरदैलोमा पुग्नेभन्दा निरन्तर रूपमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको उनको भनाइ छ।
बैतडीका बाँकी पाँच स्थानीय तहमा पनि अभियानलाई निरन्तरता दिँदै नागरिकसँग प्रत्यक्ष भेटघाट तथा संवाद गरिने भट्टले बताए।
“हामी आउँदैछौँ, हामी सुन्छौँ। जनताको आवाज सुन्ने, समस्या बुझ्ने र जनताकै बीचमा रहेर काम गर्ने उद्देश्यले यो अभियान सञ्चालन भइरहेको छ,” रास्वपाका प्रदेश सार्वजनिक मामिला विभागका पूर्व उपप्रमुख तथा युवा नेता विशाल भट्टले बताउनुभयो।