धनगढी,१ असोज / हरेका वर्ष बाढीको समस्या भोग्दै आएका कैलालीका किसानले आआफ्नो घरबाट नगद र जिन्सी वस्तु सङ्कलन गरेर रसुवाको भोटेकोशी बाढी प्रभावितलाई सहयोग गर्न थालेका छन् । बाढी, डुबान समस्या भोग्दै आएकाले त्यसको पीडा आफूहरूले अनुभूति गरेको भन्दै सुदूरपश्चिमको तराईवासी किसानले हिमाली र पहाडी क्षेत्रका बाढी प्रभावितको लागि सहयोग गर्न थालेका हुन् । कैलारी गाउँपालिकाका बाढी प्रभावित विभिन्न गाउँका किसानले प्रत्येक घरबाट सहयोग सङ्कलन गरेर भोटेकोशी नदी बाढी प्रभावितका लागि सहयोग पठाइरहेका छन् ।
आफूहरूले हरेक वर्ष बाढीको समस्या सामना गर्दै आए पनि भोटेकोशीको बाढीले जनधनको धेरै ठुलो क्षति गरेकाले गाउँबाट सहयोग रकम जुटाएको कैलारी गाउँपालिका–७, बर्का वसन्ताका भलमनसा बाबुराम चौधरीले बताए ।
उनले गाउँबाट सङ्कलित २१ हजार रुपियाँ प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिएको जानकारी दिए । बाढी प्रभावित किसानले आफूले सकेको जति सहयोग गरेको उनले बताए ।
यसै गरी कैलारी गाउँपालिका–६, बेनौलीका किसानले पनि भोटेकोशी बाढी प्रभावितका लागि गाउँका घरबाट स्वैच्छिक सहयोग जुटाइरहेका छन् । गाउँवासीको भेलाले गरेको निर्णय अनुसार नगदसहित धानचामल जस्ता जिन्सी सामग्री पनि राहतका लागि सङ्कलन गर्ने कार्य भइरहेको जनाइएको छ ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परेर कैलालीकै धेरै व्यक्ति अझै सम्पर्कविहीन रहेका छन् । उनीहरू रसुवालगायतका जिल्लामा रोजगारीका लागि पुगेका थिए । सम्पर्कविहीन भएकामध्ये कैलारी गाउँपालिका–३, बरका मुराका विश्वराज चौधरी र वडा नं. ६ सुर्मीका रोयल चौधरीका परिवारलाई पवेरागाउँवासीले नगदसहित खाद्यान्न सहयोग गरेका छन् । उनीहरूले गाउँबाट सङ्कलन गरेर सम्पर्कविहीन दुवैका परिवारलाई एक÷एक लाख नगदसहित संकलित अन्न सहयोग गरेका हुन् ।