धनगढी २८ भाद्र/कैलालीको धनगढीमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आईतबार धनगढी –२ मिलनचोकमा दुर्घटनामा मोटरसाइकल चालकसहित दुई जना घाइते भएका छन् । दुर्घटनमा कञ्चनपुरको पुनर्वास नगरपालिका–८ ‘क’ गाउँका १४ वर्षीय क्रिस गोतामेको मृत्यु भएको हो ।
धनगढीको चौराहाबाट भन्सारतर्फ जाँदै गरेको से १ प ५९५९ नम्बरको मोटरसाइकललाई बाटो क्रस गर्ने क्रममा से १ स ६११ नम्बरको अटोले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
अटो चालक धनगढी–२ आदर्शटोलका १८ वर्षीय अंकित गुप्ता रहेका छन् भने मोटरसाइकल चालक कैलालीको घोडाघोडी नगरपालिका–८ का २२ वर्षीय दिनेश थापा हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक थापाको दुवै खुट्टा र दाहिने हातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार बालकको टाउकोमा गम्भीर चोट लागेको थियो ।
घाइते दुवैलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएकोमा बालक विशाल गोतामेलाइ चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापछि अटो, अटो चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा छन् ।